पूर्वराजा ज्ञानेन्द्र शाहको भिडियो सन्देशपछि राजावादी शक्तिहरू उत्साहित बनेका छन् । ज्ञानेन्द्र शाहले गत ६ फागुनमा प्रजातन्त्र दिवसको अवसर पारेर भिडियो सन्देश सार्वजनिक गरेका थिए । देशको रक्षा र समुन्नतिका निम्ति साथ दिन नागरिकसँग ज्ञानेन्द्र शाहले अपिल गरेपछि राजावादीहरूको गतिविधि बढेको छ । पोखरा पुगेर भिडियो सन्देश सार्वजनिक गरेका पूर्वराजा शाहलाई राजधानी काठमाडौंमा भव्य स्वागत गरिएको छ । गणतन्त्र स्थापनापछि पूर्वराजा ज्ञानेन्द्रलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी स्वागत गरिएको पहिलो पल्ट हो । सरकारी अधिकारीहरूका अनुसार झण्डै १० हजार मानिस पूर्वराजालाई स्वागत गर्न सडकमा उत्रिएका थिए । संयोजन भने राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको थियो । राप्रपाकै नेताहरूको संयोजनमा सम्पूर्ण राजावादीहरू जुटेका थिए ।
पूर्वराजा ज्ञानेन्द्रको राजधानीमा भव्य स्वागत भएपछि गणतन्त्रवादी नेताहरूले चर्को आक्रोश पोखेका छन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिको रहर भए चुनावी मैदानमा आउन चुनौती दिएका छन् । हरेकजसो भाषणमा प्रधानमन्त्री ओलीले ज्ञानेन्द्र शाहलाई चुनौती दिइरहेका छन् । प्रधानमन्त्री ओलीकै जस्तो भाषामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पूर्वराजाप्रति आक्रोश पोखिरहेका छन् । नेकपा (माओवादी केन्द्र)का नेताहरू राजावादी गतिविधि बढेको भन्दै हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान स्थगित गरेरै काठमाडौं आएका छन् । गणतन्त्रवादी आन्दोलनको तयारी गर्ने नेताहरूले बताएका छन् । अर्थात्, राजावादी भर्सेस गणतन्त्रवादी ध्रुवीकरण देखिएको छ । यो ध्रुवीकरण नयाँ होइन, ८ दशक लामो ध्रुवीकरण हो ।
तर, गणतन्त्र स्थापनापछि राजावादी शक्तिहरू असाध्यै कमजोर बनेका थिए । राजावादी शक्तिहरूको संसदीय उपस्थिति असाध्यै सानो छ तर २०७९ सालको निर्वाचनपछि भने १४ सिटको सम्मानजनक मत राजावादी राप्रपाले पाएको छ । यही शक्तिका आधारमा राप्रपाले राजतन्त्र फर्काउने अभियान चलाइरहेको छ । राप्रपालगायत दलहरूको अभियानलाई टेकेरै माहोल बनाउने मुडमा पूर्वराजा ज्ञानेन्द्र देखिन्छन् । क्रमशः ज्ञानेन्द्र शाहको गतिविधि बढिरहेको छ । अहिलेको व्यवस्था र संविधानले उनलाई यस्ता गतिविधि गर्न छुट दिन्छ किनकि शान्तिपूर्ण प्रदर्शन गर्ने, दल खोल्नेदेखि जनमत लिएर राज्य संचालन गर्न हरेक नागरिकलाई संविधानले अधिकार दिएको छ । तर, त्यस्ता गतिविधि शान्तिपूर्ण हुनुपर्छ । अहिलेसम्मको गतिविधि शान्तिपूर्ण नै देखिन्छ । गणतन्त्रवादी नेताहरूचाहिँ चाहिनेभन्दा बढी सशंकित देखिन्छन् । यदि जनतामा विश्वास छ भने अरू अविश्वास तपशीलका विषय हुन् । कसैलाई निषेध गर्ने भन्दा पनि नागरिकको विश्वास जित्नेतिर राजनीतिक नेतृत्व लाग्नु राम्रो हो ।