गृहकार्य र संयोजनको अभावले कामदार महँगो जहाज भाडामा परे : राजदूत पराजुली
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रतिस्पर्धाले मात्र अन्तर्राष्ट्रिय उडानको भाडा सन्तुलनमा आउने भन्दै सरकारले नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रथमिकतामा राखेको बताएका छन् । हाल विश्वमा ४० प्रतिशत अन्तर्राष्टिय उडान कटौती भएको भन्दै मन्त्री भट्टराईले नेपालमा पनि त्यसको असर पर्नु स्वभाविक रहेको बताए ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा रोजगारी गुमाई समस्यामा परेका नेपाली कामदारहरुको उद्धारको समस्या सम्बन्धमा वैदेशिक रोजगार पत्रकार समाजले बुधबार आयोजना गरेको वेभनार कार्याक्रममा मन्त्री भट्टराईले उक्त जानकारी दिएका हुन् ।
कोभडिका कारण वैदेशिक रोजगारीका क्रममा करार अवधि सकिएका, कम्पनी बन्द भएका, रोजगारी र आवासबाट हटाइएका, बेतलवी विदामा पठाइएका, तलव नदिइएका वा तलव कटौती गरिएका, अनभिलेखवद्ध हैसियतमा रहेका, गर्भवती र विरामी नेपाली स्वदेश फर्किनुपर्ने बाध्यतामा रहेका छन् । तर उडान सीमित रहेको र जहाज टिकट अत्यधिक महँगो भएका कारण कमजोर आर्थिक हैसियतका नेपाली कामदार समस्या र जोखिममा परेका छन् ।
कार्यक्रममा मन्त्री भट्टराईले समस्यामा परेका कामदार र अन्य नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकार गम्भीर रहेको बताए । उपप्रधानमन्त्री एवं रक्षामन्त्री, परराष्ट्र मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र आफु बीचमा भएको छलफल र प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको भन्दै मन्त्री भट्टराईले विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीहरुप्रति सरकार असंवेदनशील रहेको भनेर प्रचार नगर्न पनि आग्रह गरे ।
विदेशमा रहेका नेपालीहरुको स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशिश गरिरहेको भन्दै मन्त्री भट्टराईले भने, ‘पीसीआर परीक्षणमा ७२ घण्टा अगाडिको नेगेटिभ रिपोर्ट भएका यात्रुमात्र ल्याउने गरी नियमित उडान भएका देशबाट एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने निर्णय गरिएको छ । यसले स्वदेश फर्किने समस्या क्रमशः कम गर्दै लैजाने छ । अब नेपाल फर्किन दूतावासमा निवेदन दिनुपर्ने अवस्था आउने छैन । नेपाल आउन पर्नेहरु सोझै टिकट काटेर फर्किन पाउने छन् ।’
त्यसैगरी विदेशी रोजगारदाता कम्पनीले आफ्नै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने पनि निर्णय भएको मन्त्री भट्टराईले बताए ।
मन्त्री भट्टराईले विदेशी जहाज कम्पनीको भाडा घटाउने विषयमा नेपाल सरकारले कुनै भूमिका खेल्न नसक्ने जानकारी दिए । हवाई सम्झौता गर्दा नै विदेशी सरकारले जहाज कम्पनीको भाडा लगायतका विषयमा जहाज अवतरण हुने देशले हस्तक्षेप गर्न नपाउने प्रावधान राख्ने गरेको भन्दै मन्त्री भट्टराईले सञ्चारकर्मीहरुले समाचार सम्प्रेषण गर्नुअघि हवाई सम्झौताको प्रावधानहरु जानकारीमा राख्नु आवश्यक रहेको सुझाव दिए ।
नेपाली विमान कम्पनीको भाडा महँगो भएको सम्वन्धमा विदेशस्थित नेपाली नियोगहरुले अनुगमन गर्न जरुरी रहेको भन्दै मन्त्री भट्टराईले भाडादर केही महँगो हुन गएको विषयमा सरकार जानकार रहेको तर यो परिस्थितिको बाध्यता भएको जिकिर गरे ।
विदेशमा कम्पनी टुटेर अलपत्र परेका, जेल अवधि सकिएर स्वदेश फर्किनुपर्ने जस्ता कामदारहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट उद्धार गर्ने निर्णय भएको भन्दै उनले त्यसका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नेपाली नियोगसँग उडानका समन्वय गर्ने जिम्मेवार दिइएको बताए । त्यसका लागि दूतावासहरुमा खटिएका श्रम सहचारीहरुले विशेष भूमिका खेल्नुपर्ने मन्त्री भट्टराईको भनाइ छ ।
सरकारले नेपाली कामदार वैदेशिक रोजगारीमा जाने प्रमुख गन्तव्य मुलुकमध्ये साउदी अरवको रियाद, कतारको दोहा र कुवेतको कुवेतसीटीबाट असोज १५ गतेदेखि नियमित उडान शुरु गर्ने निर्णय गरेको छ ।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले गृहकार्य र उचित संयोजनको अभावमा नेपाली कामदारहरु अनपेक्षितरुपमा महँगो जहाज टिकटमा स्वदेश फर्किनुपर्ने बाध्यतामा परेको भन्दै आगामी दिनमा सरकारका तर्फबाट हुने निर्णयमा उचित संयोजनको आवश्यकता रहेको औंल्याइन् ।
कार्यक्रममा मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक मदन कुमार श्रेष्ठले चैत ९ गतेपछि नियमिततर्फका अन्तर्राष्ट्रिय हवाई उडानबन्द भएका कारण वैदेशिक रोजगारीबाट फर्किने कामदार समस्यामा परेको उल्लेख गर्दै जेठ ३२ गतेपछि चार्टर हवाई उडान सुरु भएको तर त्यो पर्याप्त हुन नसकेको बताए ।
वैदेशिक रोजगार पत्रकार समाजका सल्लाहकारसमेत रहेका सम्पादक श्रेष्ठको कार्यपत्रमा सेप्टेम्बर १ तारेखबाट महिना भरीको लागि ५८ वटा नियमित र २७ वटा चार्टर उडान तालिका भएपनि खाडीका ७ मुलुक र मलेसियाबाट फर्किने बाध्यतामा रहेका ४ लाख ७ हजार नेपालीका लागि टिकट पाउन र पाएको टिकट खरिद गर्न समस्या रहेको उल्लेख छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies