-मोनिका वाईबा
महामारीले सँगै ल्याएको भोकमरी र गरिबीका कारण देशका अधिकांश मानिसलाई प्रत्यक्ष प्रभाव पारेको छ । उनीहरु चाहेर पनि न केहि गर्न सक्छन् न चुप लागेर नै बस्न सक्छन । महामारीको सुरुवातमै विज्ञहरुले यसले पार्ने नकारात्मक असरको बारेमा अनुमान लगाए पनि यसलाई रोक्न भने सकेका छैनन् । गरिबी र भोकमरीले अहिले महामारीलाई नै चुनौती दिँदै रफ्तारका साथ मानिसहरुको दुःखको कारण बन्न लागिपरेका छन् । आँसु, आशा र डर एकै बनाएर बसिरहेका छन् मानिसहरु । एक छाक खानको लागि भौंतारिरहेका छन् मनहरु । भोकाएको पेट अनी कोरोनाको डरमा परिणत गर्नुपरिरहेको छ ।
निषेधाज्ञाको समयमा केही दिनअघि ठेलागाडामा तरकारी बेच्न हिँडेकी महिलालाई प्रहरीले हातपात नै गरेर ढकतराजु जफत गरे । त्यसपछि ती महिलाको आँखाबाट आँसु बर्सन थाल्यो । मानौं कसैले उसको बालबच्चा उ बाट टाढा बनायो । ठेलागाडामा तरकारी बेच्ने बाहेक आफुसंग अरु कुनै विकल्प नभएको बताउँदै उनी रोइरहेको भिडियो भाइरल बन्यो । एक छाक खानको लागि धेरै संघर्ष गर्नुपर्ने तर सरकार सर्वसाधारण र निमूखाप्रति उत्तरदायी नबनेको उनको दुखेसो थियो । उनलाई सरकारको आदेश र महामारीको डर भन्दा पनि घरको चुलो कसरी बाल्ने र डेराभाडा कसरी तिर्ने भन्ने चिन्ता ठूलो छ ।
जेठको बिहानको समयमा डेढ घण्टा हिंडेर बस्न बन्देज गरिएको ठाउँमा एकजना महिला निगुरो बेच्न बसेकी रहिछन् । प्रहरीले उनलाई केही भन्नु भन्दा अगाडी नै उनले आँखा भरी आँसु पार्दै ‘अरु ठाउँमा विक्दैन् सर, यहाँ अली–अली मान्छे आउँदा रैछन ।’ यो निगुरो विक्यो भने चामल किनेर लानु छ, हिजो दिनभर पूरै परिवार खटेर जंगलबाट खोजेर ल्याएको’ भन्न थालिछन् । उनीमा भएको महामारीको डर साहसमा परिणत गर्न उनलाई कत्ति समय पनि लागेन । त्यसको केहीबेरमै प्रहरी त्यहाँबाट फर्किएछन् ।
कोरोना भाइरस बाहेक अन्य रोगीहरुको अवस्था बारे स्पष्ट जानकारी पाउन कठिन छ । भोकलाई जित्न नसकेर सडकमै ज्यान गुमाउनेको पीडा पनि त्यस्तै । खाना खानकै लागि टन्टलापुर घाममा घन्टौ हिँडेर, बच्चा तथा रोगी लाइनमा बस्नेको संख्या बढिरहेका छन् । भरियाहरु काम नपाएर भोकको कारण नाम्लो आफ्नो पेटमा बाँधेर हिंडिरहेका छन । दैनिक काम गरेर जीवन चलाउनुपर्ने कृषि मजदुर वा आम श्रमजीवीहरु सबैको पीडा उस्तै छ । यस्तै यस्तै समस्याहरु बोकेका, भोको पेट भौतारिरहेका मानिसहरुको संख्या बढ्दो छ । यो सबै हुनुमा अभाव र गरिबी नै हो । गरिबीको अवस्थाले अरू धेरै अवसर र स्वतन्त्रतालाई खुम्च्याएको छ । गरिबी आफैंमा एउटा महामारी हो ।
मानव सभ्यताको शुरुवाती देखि नै महामारी विभिन्न रूपमा आइरहेका छन् । कहिले मानव रोगका रूपमा, कहिले पशु रोगका रूपमा, कहिले खडेरीका रूपमा। । महामारी मानव रोगका रूपमा आउँदा विश्वकै चिन्ता र चासोको विषय बन्ने गर्दछ । जति चिन्ता महामारीको हुने गर्दछ त्यो भन्दा बढी पीडा भोकमरीले निम्त्याउने गरेको इतिहास साक्षी छ । भोकको विकल्प भोजन मात्र हो । भोकबाट तडपिएको मानिस गोलाबारुददेखि पनि डराउँदैन भन्ने गरिन्छ । त्यसैले नै होला मानिसहरु भोकको लागि महामारीलाई नै चुनौती दिन बाध्य भएका छन् । समयमै योजना नबनाउनु असफल हुनका लागि योजना बनाउनु सरह हो भने झैं भोकमरीले चरम सिमा नाघ्दैछ । विश्वव्यापी हुँदै गएको भोकमरीले महामारी भन्दा अगाडी आफ्नो अस्तित्व बनाइसकेको भए पनि निर्मूल हुन सकेको छैन ।
भोकमरी र खाद्यसंकट यस्ता मानवीय समस्या हुन् जसको असर दिर्घकालिन र बहुआयामिक हुने गर्छ । कोरोना महामारीबाट पार नलागेसम्म भोकमरीलाई पार लगाउन निकै अफ्ट्यारो हुनु स्वाभाविक भएपनि त्यसमा ध्यान दिन आवश्यक छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोनाको महामारी पूर्ण रूपमा साम्य हुन अरू दुई वर्ष कुर्नु पर्नेछ । यद्यपी, कोरोना भाइरसको भ्याक्सिन बन्यो भने अलि सहज हुन्छ । डब्लुएचओले पनि विश्वका करिब ७७ देशका १४० जनाभन्दा बढी वैज्ञानिकहरूसँग समीपमा रहेर काम गरिरहेको जनाए पनि लगभग नौं महिनादेखि विश्वलाई कैद गरेको महामारीले अन्य महामारीसँग नजिक बनाउँदैछ ।
द स्टेट अफ फुड सेक्युरिटी एन्ड न्युट्रिसन इन द वल्र्डद्वारा सन् २०२० जुलाई मा प्रकाशित एउटा रिपोर्ट अनुसार सन् २०१९ मा मात्र ६९० मिलियन मानिस भोकमरीमा फसेका थिए । त्यो संख्या सन् २०१८ को भन्दा १० मिलियन बढी हो । त्यस्तै ६० मिलियन मानिस करिब ५ वर्षभित्रमा पोषिलो खाद्यान्न नपाएर कुपोषणमा परेका थिए ।
त्यसैगरी करिब पाँच महिना अघि संयुक्त राष्ट्र संघले चेतावनी दिंदै रिपोर्ट सार्वजनिक गरेको थियो । जसअनुसार महामारी सकिँदासम्म विश्वव्यापी गरिबी थप बढेर ५० करोड मानिसहरु गरिबीमा धकेलिने छन । ३० वर्षयताकै बढी विश्वव्यापी रुपमा गरिबी बढ्ने उक्त रिपोर्टले जानेको छ । करिब ४० प्रतिशत नयाँ गरिबहरु पूर्वी एसिया र प्यासिफिकमा देखापर्ने र एक तिहाइ दक्षिण एसिया र सबसाहारा अफ्रिकामा देखा पर्ने बताइएको छ ।
विश्व भोकमरी सूचकांकको रिपोर्टलाई संयुक्त राष्ट्रसंघको दिगो विकास एजेण्डासँग पनि आबद्ध गरिएसंगै सन् २०३० सम्म प्राप्त गर्ने भनिएको दिगो विकास एजेण्डामा एउटा लक्ष्य भोकमरीलाई शून्य पार्ने पनि हो । अबको भोकमरीले त्यसलाई थप जटिल पार्ने विज्ञहरु बताउँछन् । यी सबै रिर्पोटहरु र बर्तमान अवस्था हेर्दा कोरोना महामारी भन्दा पनि भोकमरीको महामारी भयानक बन्ने निश्चित देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies