– गोविन्द विक
सत्ता र शक्तिको अढेस लागेर राम्रालाई नभई हाम्रालाई अवसर दिनेहरुको भिड बढिरहेको हुनाले लोकतन्त्रमा परिवारवादको हाबी भइरहेको छ । लामो त्याग संघर्ष गरेका व्यक्तिहरुलाई पाखा लगाएर श्रीमतीलाई टिकट थमाउँदा जनताले नरूचाएको तितो यर्थात् कसैबाट छिपेको छैन । चुनावका लागि टिकट होस् वा राज्यको उच्च तहमा गरिने राजनीतिक नियुक्ती होस् श्रीमती, छोरीछोरा, बुहारी, सम्धी, सालासाली, जेठान र ससुराहरुले नै अवसर पाइरहने परिपार्टी नेपाली राजनीतिमा मौलाइरहेको छ । जसका कारण आज शासन सञ्चालन गर्नेहरु प्रतिको जनविश्वास कम हुँदै गएको वास्तविकताबाट हामी टाढा हुन सक्दैनौ । वास्तविक लोकतन्त्रको अभ्यास गर्ने हो भने हाम्राले हैन राम्राले अवसर पाउनु पर्दछ । पार्र्टीमा सहयोग गरेको भरमा नै श्रीमतीलाई टिकट दिनु, अध्यक्षको छोरी भएकै कारण भोट नदिए देश दुर्घटना हुन्छ भन्नु, प्रधानमन्त्री पत्नी भएकै कारण हाम्रो पार्टीका मेयर नजिते संघीय सरकारले बजेट नै नदिने धम्की दिनु, श्रीमतीको नातेदार भएकै कारण विद्युत प्राधिकरणको कार्यकारीमा नियुक्ती पाउनु, लोकतन्त्रको बिगुल फुक्नेहरुबाट हुने गरेका यी हर्कतहरुले आम जनता दिग्दार भएका छन् । दलभित्र पनि क्षमता र त्यागलाई पन्छाउदै नजिकका आसेपासेहरुलाई नै अघि सार्ने नसुहाउँदो प्रणालीको विरुद्धमा जबसम्म मौनता रहिरहन्छ तबसम्म श्रीमान् श्रीमतीहरुले राज्यका उच्च पदमा बारम्बार हालीमुहाली मच्चाइरहने पक्का नै छ ।
बहुदलीय व्यवस्थामा सत्ता सञ्चालन गर्ने शक्ति भनेको राजनैतिक दल नै हो । राजनीतिक दलभित्र नै लोकतन्त्र कमजोर बनाउने अभ्यास पटक–पटक हुने भएपछि यी दलबाट लोकतन्त्र फस्टाउने छाँट देखिँदैन । दलहरुले समावेशीताको सिद्धान्तको मर्म र भावनालाई निरन्तररूपमा कुल्चिरहेका छन । कुनै पनि दलमा समावेशीताको मर्म र भावनालाई कदर गरेका उदाहरण भेट्न निकै मुस्कील छ । सत्ता सञ्चालनको लागि जनमत पाएकाहरु नै लोकतान्त्रिक तवरबाट सुशासन स्थापितमा चुकिरहेका छन् । करिब दुई तिहाइको जनमत पाएकालाई पनि परिवारवादले नछोडेको सतहमै देखियो । जब सत्ताको कुर्सीमा पुग्छन् तब लोकतन्त्रलाई निमोठ्ने अभ्यास शुरू भैहाल्छ । जब शक्ति आफ्नो पकटमा पार्न सफल हुन्छ मान्छे तब उसले आफ्नाहरुको लागि मात्र अवसर देख्दो रहेछ भन्ने उदाहरण विभिन्न घटनाक्रमले देखाएका छन । नेपाली राजनीतिमा आफ्ना आफन्तहरुको लागि मात्र अवसर देख्ने गरेका उच्च नेतृत्वमाथि परिवारवादको आरोप लाग्नु कुनै नौलो विषय नै हैन । उच्च नेतृत्व तहबाट नै राज्य सञ्चालनको क्रममा आफ्ना आफन्तहरुलाई अवसर दिने अभ्यास हिजो पनि थियो र आज पनि निरन्तर छ । लोकतन्त्रको उपहासमा आलोचित हुने राजनैतिक दलका नेतृत्वहरु क्षमता र संघर्षलाई जहिलै तिलाञ्जली दिन तत्पर देखिन्छन् । इमानदार भएर पार्टीमा काम गर्ने सधैँँ पार्टीको भविष्यका लागि संघर्ष गर्नेहरु पछि पर्नु परिरहेको वास्तविकता छरपष्ट छन् । नेतृत्वको नजरमा परिवार र आफ्नो वरीपरी घुम्नेहरु नै सधैँ परिरहने भएपछि लोकतन्त्र त्यसै कमजोर हुँदै जान्छ ।
लोकतान्त्रिक व्यवस्थामा बहुदलीय प्रणाली जहिले अग्रभागमा रहन्छ । जनताको मतले सत्ताको कुर्सीमा दलहरु रहन्छन् । सत्तामा रहने दलहरुले सबैलाई समान अवसर दिने सबैको योगदानलाई उचित स्थानमा सम्बोधन गर्ने प्रणालीको विकास होस् भन्ने अपेक्षा आम जनताको रहेको हुन्छ । संसारको सबैभन्दा उच्चतम शासन प्रणाली भनेको नै लोकतान्त्रिक प्रणाली नै हो । राज्यको तहमा सबैको समान अवसर हुनु, दलभित्र सबैको समान हैसियत रहनु, संघर्ष गर्ने त्याग गर्ने सधैँँ दलको हितमा तल्लीन हुनेहरुलाई अवसरको प्राथमितामा पर्नु र पारिनु नेतृत्वको वरीपरी छिकार्नी मारेकै भरमा राज्यको उच्च तहमा जाने मौका नपाउनु समावेशी र समानतालाई सधैँ ध्यानमा राखेर राज्य सञ्चालनमा सहभागी गराउनु नै लोकतन्त्रको मर्म हो । राज्यहितका भावनालाई समेट्नु, सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागितामा ध्यान दिनु, दलका गतिविधिहरु सबै दण्डहिनता सुशासन उन्मुख मार्गमा केन्द्रित हुनु, राजनैतिक दलभित्र समयसापेक्ष नेतृत्व हस्तान्तरणलाई निरन्तर अभ्यासमा ल्याउनु, नेतृत्वले बाटो बिराएको अवस्थामा खबरदारीका लागि जहिलै तत्पर हुने वातावरण निर्माण गर्नु लोकतन्त्रका अभिन्न पक्षहरु हुन् । सत्ता र शक्तिका लागि आफू अनुकूल हुँदा सबै ठिक आफू प्रतिकुल हुँदा सबै धोका र अन्तरघात देख्ने प्रवृत्ति लोकतन्त्रका लागि घातकजन्य अभ्यास हो । दलभित्र हुने पद भागवण्डामा लोकतन्त्रलाई नै कमजोर बनाउने गरी लेनदेनको अभ्यास गरिन्छ भने त्यसले कुनैपनि दललाई स्थिर बनाउन सहयोग पुग्दैन र जनताका सामु जहिलै अविश्वासको वातावरण बनिरहन्छ । जनविश्वास जबसम्म कायम रहन्छ तबसम्म सत्ता उन्मुख गल्तीहरु देखिँदैनन् । जनविश्वास कमजोर बन्दै गएपछि लोकतन्त्रका गलत अभ्यासहरु छरपष्ट हुँदै जान्छन् । अन्ततः दलका लागि नै घातक सिद्ध हुन्छ । त्यसैले राजनैतिक दलभित्रको लोकतन्त्रलाई मजबुद बनाउने प्रमुख जिम्मेवारी दलकै नेतृत्वकर्ताको हो ।
दलभित्रको लोकतन्त्रलाई बलियो अभ्यासमा निरन्तरता दिने सुनौलो अवसर दलहरुले गुमाउनु दुर्भाग्य नै हुन जान्छ । जनविश्वास गुम्ने अवस्था सिर्जना हुनुमा मेरो नेतृत्व कहाँनिर चुक्यो ? कुन सवालमा ध्यान नपु¥याउँदा जनमतबाट टाढिने अवस्था आयो ? के मेरो नेतृत्वले सबैलाई समान नजरबाट हेरेको छ ? के मेरो नेतृत्व सबैको प्रिय बन्ने मार्गमा गइरहेको छ ? मैले लिने निर्णयहरुमा पार्टी जनता र मुलुकमा कुन तहसम्मको प्रभाव रहन्छ ? क्षणिक लोकप्रियतालाई आत्मसाथ गरेर कसैसँग गरेका सम्झौताहरुको दिर्घकालिन असर कस्तो रहन्छ ? भावी पुस्ताले सधैँ मलाई सम्झने समृद्धिको जग बसाउनमा मेरो पहल के रह्यो ? पटक–पटक सत्ता सञ्चालनको जिम्मेवारी पाउँदा अनुभव गर्ने गरी मैले गरेका जनमुखी काम के हुन ? बिजुलीका पोलमा ठूला–ठूला तस्वीर राखेर नयाँ युगको विगुल फुक्दा त्यसले जनमानसमा कस्तो सन्देश दिए मैले ? संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्दै संसदीय व्यवस्थाविरुद्ध लड्दा जनताले रुचाइ जनमतबाट ठूलै दलको हैसियतमा सत्ता सुम्पीदा जनअपेक्षा चटक्क बिर्सेर त्यही संसदीय व्यवस्थाभित्र आफै विलासिताको जीवन विताउनु के ठिक थियो ? यी र यस्ता प्रश्नहरुको गम्भीर समिक्षा गर्नका लागि राजनैतिक दलका नेतृत्वको ध्यान नजानु नै जनविश्वास कुल्चीने गम्भीर अभ्यास होभन्दा फरक पर्दैन ।
फोहोरी राजनीतिको बितण्डा मच्चाउँदा दलभित्रका नेताहरुले उच्च तहमा गएर निम्छरो व्यवहार प्रदर्शन गरिरहँदा नेतृत्व रमिते बन्नु लोकतन्त्रमा लज्जास्पद अभ्यास हो । त्यसैले दलभित्रको लोकतन्त्रलाई बलियो बनाउदै आफ्ना आफन्तलाई अवसर दिने भन्दा पनि क्षमता, दक्षता संघर्ष त्याग र जनहितलाई मुख्य आधार मानेर अवसरका ढोकाहरु खुल्ला गर्ने नीति र पद्धतिको विकासमा दलका नेतृत्व कर्ताहरु लागेको अवस्थामा लोकतन्त्र त्यसै परिपक्व हुँदै जान्छ । परिवारवादले राज्यतहमा हाबी हुने मौका पाउदैन भन्ने कुरा उच्च नेतृत्वले बुझ्न निकै ढिला भइसकेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies