
काठमाडौं : सुर्खेतमा १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा प्रहरीले सामूहिक बलात्कार नभएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा विद्यालय जाने भन्दै घरबाट निस्किएकी थिइन् । सोही दिन वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा उनी अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि प्रहरीले एक १६ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । प्रारम्भिक बयानमा ती किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तस्राव भई उनी अचेत भएको बताएका थिए ।
प्रहरीका अनुसार पोस्टमार्टम प्रतिवेदनले पनि यौनाङ्गको भित्री भागमा लागेको गहिरो चोटका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको पुष्टि गरेको छ ।
अनुसन्धानका क्रममा घटनासँग सम्बन्धित अन्य तीन जनालाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकिएको छ ।
प्रहरीले बुझाएको प्रतिवेदनमा इनिशाको मृत्यु सामूहिक बलात्कारका कारण नभई मुख्य अभियुक्तसँगको शारीरिक सम्पर्कका क्रममा लागेको गहिरो चोट र त्यसबाट भएको अत्यधिक रक्तस्रावका कारण भएको निष्कर्ष निकालिएको छ ।
प्रहरीले मुख्य अभियुक्तविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गर्दै जन्मकैदको माग गरेको जनाएको छ । अन्य तीन जनाविरुद्ध भने घटनास्थलमा उपस्थित भएर पनि पीडितलाई बचाउने प्रयास नगरेको आरोपमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।