काठमाडौंः नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सार्वजनिक जग्गासँग नाम जोडेर आफ्नो चरित्रहत्या गर्न खोजेको आरोप लगाएका छन् । उनले आज पत्रकार सम्मेलन गरी गत फागुन २८ मा प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले दिएको अभिव्यक्ति राजनीतिक पूर्वाग्रहका साथ आएको बताएका हुन् ।
‘साविक मनमैजु गाविस वडा नं ९ हाल तारकेश्वर नगरपालिका वडा नं १० लोकतान्त्रिक चोकमा रहेको कित्ता नं ६१ र ६२ मेरो तथा मेरो परिवारका नाममा र कित्ता नं ६३ सार्वजनिक जग्गा हो, मलाई सरकारी जग्गा एक कित्ता पनि चाँहिदैन, मेरो चरित्रहत्या गर्ने मनसायका साथ संसदमा आवाज उठाउँदा म दुःखीत भएको छु’, डा केसीले भने ।
उनले संसद्को अभिव्यक्तिले आफ्नो राजनीतिक चरित्रहत्या भएको भन्दै कानुनी उपचारमा जानेसमेत स्पष्ट पारे । डा केसीले आधार र प्रमाणबिना कपोलकल्पित र भ्रमपूर्ण प्रश्न संसदमा उठ्नु गलत भएको समेत बताए ।