काठमाडौं : ‘विनाशकाले विपरित बुद्धि : सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्त्वसडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुष्कर्मको प्रयास : पूर्वविशिष्टलाई आजिवन सुविधा !’ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको शुक्रबार दिएको यो अभिव्यक्तिले सरकार सत्कर्ममा छैन भन्ने संकेत गर्दछ ।
संसदका २ ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनै नेता कोइराला वर्तमान सरकारप्रति असन्तुष्ट छन् । वर्तमान सरकारबाट राजनीतिक स्थिरतासँगै नागरिकको निराशालाई चिर्ने गरी काम हुन्छ भन्ने आम अपेक्षालाई सरकारका पछिल्ला गतिविधिले उपेक्षा गरेको भन्दै उनी पटकपटक असन्तुष्टि पोख्दै आएका हुन् ।
उसो त उनी सरकारसँग मात्र होइन, आफ्नै पार्टीको सत्तापक्षसँग पनि त्यत्तिकै रिसाएका छन् । संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका डा. कोइरालाले एमालेको सत्ता सहयोगी बनेको कांग्रेस पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएसँगै पार्टीलाई नै एमालेकरण गरेको आरोप लगाउँदै आएका छन् । पछिल्लो समय कोइरालाले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको र पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूसमेत प्रधानमन्त्री ओलीको सहयोगी जस्तो मात्रै बनेको टिप्पणी गरेका हुन् ।
फागुन महिनामा कोइराला प्रमुख अतिथि बनेर ७ वटा कार्यक्रममा सहभागी भए । ती सबै कार्यक्रममा उनले ओली नेतृत्वको वर्तमान सरकार र पार्टीकै सत्तापक्षप्रति खुलेर आलोचना र टिप्पणी गरे । ६ फागुनमा नेपाल प्रेस युनियन जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला, ८ र ९ फागुनमा सुर्खेतमा पार्टीको कर्णाली प्रदेशस्तरीय कार्यक्रम, ११ फागुनमा बाँकेस्थित राप्तिसोनारी गाउँपालिकाको पार्टी कार्यक्रम, १३ फागुनमा नेपालगंजको कार्यक्रम, १८ फागुनमा रुपन्देहीमा पार्टीको प्रचार विभागको कार्यक्रम र २४ फागुनमा झापामा भएको कार्यक्रममा उनले सरकारको गतिविधि र कांग्रेसका सत्तापक्षले पार्टीलाई एमालेकरण गरेको आरोप लगाए ।
पार्टी सभापति शेरबहादुर देउवाले सरकार सही दिशामा अघि बढिरहेको दाबीसहित ओलीको समर्थनलाई थप मजबुद बनाउँदै २०८३ असारमा प्रधानमन्त्री बन्ने योजनामा छन् । गत १७ असारको मध्यरातमा भएको कांग्रेस–एमाले सत्तासहकार्यको ७ बुँदे सम्झौताअनुसार सभापति देउवालाई ओलीले २ वर्षपछि प्रधानमन्त्रीमा सहयोग गर्ने सहमति गरेका थिए । सोही सहमति कार्यान्वयन गराउन यतिबेला देउवा प्रधानमन्त्री ओलीको कुरा काट्न सक्ने अवस्थामा छैनन् । देउवाले पार्टीको १५ औं महाधिवेशन समेत आफू प्रधानमन्त्री भएपछि मात्रै गर्ने योजना अघि सारेपछि कोइराला थप रुष्ट बनेका हुन् ।
पार्टीको १५ औं महाधिवेशनमा सभापति बन्ने लक्ष्य लिएर देश दौडाहमा हिँडेका नेता कोइराला विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।
यद्यपि संस्थापन पक्षका नेताहरूले महाधिवेशन सार्ने सभापतिको योजनालाई सफल बनाउन लागेका छन् । यसमा कोइराला पक्षकै पक्षमा रहेका पदाधिकारीहरूसमेत लागेका छन् । तर, कोइराला पछिल्ला कार्यक्रममा एक्लै जस्ता देखिएपनि उनलाई संस्थापन पक्षका केही नेताहरूले साथ दिएको देखिन्छ । उनी हरेक अभियानमा सरकार र पार्टीको संस्थापन पक्षप्रति चर्को आलोचनामा उत्रिएको देखिन्छ ।
‘राजनीति स्थिरता, सुशासन, समृद्धि र सेवा प्रवाहलाई चुस्त बनाउन यो सरकार बनेको हो’, डा. कोइरालाले भने ‘हामीहरूले २ वटा ठूला दल मिलाएर सरकार त बनायौं, तर जनतामा आशा जगाउन सकेनौं । त्यसतर्फ सरकारमा बसेकाहरूले ध्यान दिन सकेको छैन । हाम्रा साथीहरू सरकारमा हुनुहुन्छ उहाँहरूले राम्रोसँग सत्तापक्षकै काम गर्ने हो । तर हाम्रो प्रतिस्पर्धी एमाले भएकाले सरकार बाहिर रहेका कांग्रेसका नेताहरूले सरकारका कमजोरीलाई केलाएर सुझाव दिने, खबरदारी गर्ने र पार्टीलाई बलियो बनाउने गरी काम गर्ने हो ।’
कोइरालाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बक्यौता उठाउने कदममा हस्तक्षेप गर्दै सरकारले उद्योगीको पक्षमा उभिएको, उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजिएको, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएकोमा ओली सरकारसँग असन्तुष्टी पोखेका थिए । उनले संसद सुरु हुनुभन्दा केही समय अघि ल्याइएका भूमिसम्बन्धी र अन्य ५ अध्यादेशको समेत विरोध गरेका थिए । त्यस्तै सरकारले बनाएको कांग्रेस–एमाले सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको समेत विरोध गरेका छन् । स्थानीय तहदेखि संघीय सरकारसमेत संयन्त्रले चलाउन लागेकोप्रति आपत्ति जनउँदै उनले प्रश्न गरे ‘स्थानीय, प्रदेश र संघीय सरकार राजनीतिक संयन्त्रले चलाउने हो भने सरकारको के काम ?’
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार रहेका बेला पहिलो दल कांग्रेस र दोस्रो ठूलो दल एमाले मिल्नुपर्छ भनेर पहलकदमी पनि गरेका थिए । कोशी प्रदेशमा आफू निकटका नेता केदार कार्कीलाई एमालेकै समर्थनमा मुख्यमन्त्रीसमेत बनाउन सफल कोइराला अहिले स्थायित्वका लागि संविधान संशोधनसमेत गर्ने भनेर बनेको एमालेसँगको गठबन्धन सरकारले काम गर्न नसकेको आरोपमा खरो उत्रिएका छन् । त्यसको विपक्षमा कांग्रेस संस्थापन पक्षकै नेताहरूले कोइरलाप्रति टिप्पणी गर्न थालेका छन् ।
कोइरालाको यो शैलीप्रति प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेता कोइरालाको अभिव्यक्ति दलीय संस्कृतिविपरीत भएको बताए । ‘संगठन वा पार्टीभित्र दलीय जिम्मेवारी र दलीय विशेषता हुन्छ, जसकारण कहिलेकाँही व्यक्तिगत रूपमा आफूलाई मन नपर्ने निर्णय पार्टीले गर्यो भने पनि त्यसलाई हामी आफ्नो निर्णय मान्छौँ । त्यो दलीय संस्कृति विपरित हो’, उनले भने ।
लोकतन्त्रमा आफ्ना अभिव्यक्तिहरू खुलेर राख्न पाइन्छ, सरकारलाई सुझाव दिने आलोचना गर्ने कुरा स्वभाविक भएपनि पार्टी नेताहरूका विरुद्धमा लाग्नु अशोभनीय र पार्टी हित विपरित हुने विश्वकर्माको भनाइ छ । तर, २ ठूला दल मिलेर सरकार बनाउँदा पनि राम्रो ‘परफर्मेन्स’ र राम्रो ‘डेलिभरी’ भएन भनेर खबरदारी गर्नुलाई लोकतन्त्रको सौन्दर्य र सुशासनको पक्षमा भएको कोइराला निकटका नेता गुरुराज घिमिरेको भनाइ छ ।