काठमाडौंः नेकपा (एमाले) सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाही उठेर विरोध जनाउन खोजेपछि जवाफमा पन्तले आफूसँग बसह गर्ने हो भने इतिहास पढेर आउन भनेका हुन् ।
उनले भने, ‘नेपाल दक्षिण एसियामा गरिब छ । राजाको पालामा पनि त झन् गरिब थियौं । तपाईंहरु जुलुश निकाल्नुहुन्छ, राजावादीहरु भनेर । त्यहाँ हेर्दा नारा सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश, यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ? मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस् ।’
साथै उनले राजा महेन्द्रको (सक्रिय राजतन्त्र) पालामा नेपालको चुच्चे नक्शा हराएको आरोप लगाए । राजा महेन्द्रको पालामा नेपालको चुच्चे नक्शा मात्रै नभएर लोकतन्त्र पनि हराएको पन्तको टिप्पणी गरे ।
उनले भने, ‘सभामुखज्यूको पनि गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु । अहिलेको संविधानले राजतन्त्र चिन्दैन । त्यस विषयमा यो संसदभित्र छलफल गर्न पाईँदैन । राजतन्त्र भनेको विशेषाधिकार हो, संसारको प्रवाह भनेको गणतन्त्र हो ।’ उनले राजनीति तथ्यमा, तर्कमा र यर्थाथमा उभिएर गर्यो भने मात्र टिकाउ हुने बताए ।