२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कमलादी महाधिवेशनको महत्व

ADV
२०८१ असार १८ गते ०६:३०
कमलादी महाधिवेशनको महत्व

सत्ता समीकरणमा आउन सक्ने परिवर्तनका कारणले राष्ट्रिय राजनीति तरंगित हुँदा नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन ओझेलमा परेको छ । जबकी राजधानीको कमलादीस्थित प्रज्ञाभवनमा १६ असारदेखि चलिरहेको महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्व र पारित गर्ने नीतिले सिंगो राजनीतिलाई प्रभावित बनाउन सक्छ । त्यसैपनि देशका दुई÷दुई जना पूर्वप्रधानमन्त्रीहरु रहेको यो पार्टीको महाधिवेशनले विशेष अर्थ राख्छ । किनकि एकीकृत समाजवादीको नेतृत्व गरिहेका पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल व्यवस्था परिवर्तनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेका नेताहरु हुन् । भलै अहिले एकीकृत समाजवादीको संसदीय आयतन सानो छ । संघीय संसद्मा १० जना मात्रै सांसद रहेकाले यो पार्टीलाई कम महत्व दिइएको प्रष्ट छ । 

तर राजनीति भनेको सांसदको संख्याले मात्रै निर्धारण हुँदैन । कहिलेकाँही उक्त दलले दिने सन्देश महत्वपूर्ण हुन्छ । विशेषगरी राजनीतिलाई मार्गदर्शन गर्ने सन्दर्भमा संसदीय आयतन भन्दा राजनीतिक अन्तर्वस्तु महत्वपूर्ण हुन्छ । त्यसैले एकीकृत समाजवादीको महाधिवेशनलाई कम आँक्न मिल्दैन । २०७९ मंसिरको चुनावबाट हङ पार्लियेमन्ट बनेको अर्थमा त एकीकृत समाजवादीको महाधिवेशन झनै अर्थपूर्ण छ । किनकि सरकार निर्माणमा यो पार्टीको संसदीय गणितले ठूलै अर्थ राख्छ । सरकार निर्माण, सरकारका कार्यक्रम र सत्ता समीकरणबारे यो पार्टीले लिने निर्णयले मुलकको राजनीतिक कार्यदिशा प्रभावित बन्न सक्छ । जस्तो– वामपन्थी सहकार्य हुँदै एकता भन्ने नीति पारित भयो भने सरकार निर्माणको एउटा दृष्यबारे अनुमान गर्न सकिन्छ । तर वाम–लोकतान्त्रिक सहकार्य भन्ने नीति पारित भए मुलुकको राजनीति अर्कै बाटो हिड्ने संभावना हुन्छ । 

अर्थात् एकीकृत समाजवादीको महाधिवेशनले पारित गर्ने नीतिगत निर्णयको असर कमलादी र एकीकृत समाजवादीभित्र मात्र सीमित रहनेछैन । यो महाधिवेशन लिने बाटोले सिंगो मुलुकको राजनीतिलाई दिशाबोध गर्न सक्छ । त्यसैले महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले मुलुकको दीर्घकालीन हित हेरेर नीतिगत निर्णय लिन आवश्यक छ । नेतृत्वबारे लिने निर्णय अझ महत्वपूर्ण छ । महाधिवेशनले पुरानै नेतृत्वलाई निरन्तरता दिए त्यसको सिको अरु दलहरुले पनि गर्नेछन् । तर पाका पुस्ताको संरक्षण र सल्लाह बमोजिम चल्नेगरी नयाँ नेतृत्व आएमा त्यसले मुलुकको राजनीतिकै दिशा प्रभावित तुल्याउनेछ । नेपाली कांग्रेस, नेकपा एमाले जस्ता दलहरुभित्र नेतृत्व परिवर्तनको आवाज उठ्नेछ । त्यसैले कमलादीमा चलिरहेको एकीकृत समाजवादीको महाधिवेशनले विशेष राजनीतिक महत्व राख्नेछ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise