काठमाडौं : कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने भन्दै केन्द्र सरकार पन्छिएका बेला प्रदेश सरकारहरुले भने निशूल्क उपचार गर्ने निर्णय गर्न थालेका छन् । सरकारले विपन्न तथा अशक्त बाहेकका संक्रमितले आफ्नो उपचार खर्च आफै बेहोर्नुपर्ने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ ।
पछिल्लो पटक बागमती प्रदेशले आफ्नो प्रदेशका कोरोना संक्रमितको उपचार निशूल्क गर्ने निर्णय गरेको हो । योसँगै अहिलेसम्म पाँचवटा प्रदेशले केन्द्र सरकारको निर्णय विपरित संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेका हुन् ।
यसअघि प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले आफ्नो प्रदेशका संक्रमितको उपचार निशूल्क गर्ने निर्णय गरेका थिए । अझैसम्म कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले भने यससम्बन्धमा कुनै निर्णय गरेका छैनन् ।
बागमती प्रदेशले संक्रमितको उपचार निशूल्क गर्ने बताए पनि केन्द्र सरकार मातहतमा रहेका कोरोना संक्रमितको उपचार हुने पाटन, वीर, सिभिल, त्रिवि शिक्षण अस्पताल, टेकू अस्पतालमा भने संक्रमितले आफ्नो उपचार खर्च आफै बेहोर्नु पर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले संक्रमितले आफ्नो उपचार खर्च आफै बेहोर्नु पर्ने बताएसँगै विभिन्न अस्पतालहरुले लाग्ने शूल्कको विवरण नै सार्वजनिक गर्न थालेका छन् । ती अस्पतालले धरौटी स्वरुप अधिकतम दुई लाख तथा दैनिक खर्च अधिकत १५ हजार रुपैयाँसम्म लाग्ने गरी शूल्क सूचि प्रकाशित गरेका छन् ।
स्वाथ्य मन्त्रालयले संक्रमितको उपचारका लागि दैनिक दुई हजारदेखि १५ हजार रुपैयाँसम्म लिन पाउने बताएपछि अस्पतालहरुले सूचि सार्वजनिक गर्ने क्रम सुरु भएको हो ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies