अनिता कोइराला
काठमाडौंः सलील ज्ञवालीको ‘पूर्वीय सभ्यता विश्वविख्यात विद्वान्हरूका दृष्टिमा’ प्रवेश गर्नु अगाडि यस कृतिका अनुवादका डा. गोविन्दराज भट्टराईका भावनालाई यहाँ उद्धृत गरेकी छु, ‘हाम्रा अध्यापक, चिन्तक, लेखकलाई सल्लाह दिन मन लागेको थियो– प्राचीन साहित्यका अमर सिर्जना पढौं र त्यहाँ जीवन खोजौं, त्यसको गौरवगान गरौं अनि त्यसलाई वर्तमानको आँगनमा ल्याऔं तर दुःखको कुरा छ हाम्रो सामु– स्वर्ग चढ्ने भर्याङ भौतिकवादीहरूले खुस्काइदिए, जलाइदिए र त्यता तार्ने माझीलाई पछारेर लडाइदिए । अनि, कसरी त्यहाँ पुग्नु ?’ (पृ. : ३६)
हाम्रो सभ्यताको दुरुह अवस्था देखेर, सम्पन्नताको सुन्दर फूलबारी तहसनहस भएको देखेर, आफ्नै आमालाई दुत्कार्ने सन्तानको अधोगतिको नाडी राम्ररी छामेर डा. भट्टराई निकै चिन्तित हुनुहुन्छ । साँच्चै भनेका रहेछन् विज्ञहरूले– ‘कुनै पनि समाजलाई पूर्ण रूपमा बर्बाद गर्नु छ भने त्यहाँको शिक्षा र संस्कृतिमाथि सर्वप्रथम हमला गर्नुपर्छ ।’
शिक्षाको ज्योतिले मानवको आत्मा प्रदीप्त गर्छ तर संस्कृतिमाथिको राजनीति बडो विनाशक हुँदो रहेछ । गोविन्दराज भट्टराई भन्नुहुन्छ, ‘संस्कृत–गंगाको मुहान टाल्न आज कत्रा दुष्प्रयत्न भएका छन् । मलाई लागेको छ, नेपालमा जड भौतिकवादीले ५० वर्षअगि सल्काएको डढेलोले गरेको विनाशलाई केसित तुलना गर्नु ? धेरै कुरा खरानी बनायो; सबैभन्दा बढी ता अनुभूति गर्ने आत्मा डढायो; मूल्य मापन गर्ने हृदय डढायो; त्यतिले पुगेन, आध्यात्मिक मूल्य र संस्कृति अनि प्रेम डढायो, पहिरो, डढेलोपश्चात् पनि प्रकृति फेरि पलाउँछिन् होला तर जडतामा बद्ध भएको मानव आत्मालाई केले फर्काउने ?’(पृ. : ३७)
हाम्रो संस्कृति र सभ्याताप्रतिको विमुखताका कारणहरू थाहा पाएर मलाई साँच्चै डाको छाडेर रुन मन लाग्यो । सत्य भनेका छन् डा. भट्टराईले विपुलतम ज्ञानको सागरमा जन्मिएका हामी अनभिज्ञ छौं त्यो विराट प्रज्ञाबाट । जन्मँदै हृदयको गर्तमा त्यो अखण्ड ज्ञानको ज्योति बलेको थियो । त्यो ज्योतिलाई अज्ञानको बालुवाले ढ्याप्प छोपेर हिँडेका छौं एक झुल्को उज्यालोको आशामा । आन्तरिकताको हिमनदीलाई छाडेर भड्किएका छौं भौतिकताको मरुभूमिमा ।
पूर्वीय संस्कृति र पूर्वीय वाङ्मयको रहस्यमय इतिहासलाई बुझ्न हामीले आफैंलाई बुझ्न सक्नुपर्छ । हामी त त्यो माछा हौं, जो पानीभित्रै प्यासी छौं । ब्रह्मको कुरा गर्छौं तर ब्रह्मज्ञानबाट विमुख छौं । आत्माको कुरा गर्छौं, आत्मज्ञानबाट कोसौं टाढा छौं । आधुनिकताको नाममा हामीले हाम्रो गौरवलाई कौडीको मूल्यमा बेचिसकेका छौं । हामी त ती ऋषिमुनिका सन्तान हौं, जो वेदका ऋचाहरूलाई सिद्ध गर्थे । दृश्य र अदृश्य जगत्लाई नाप्न सक्थे । सम्पूर्ण रूपमा आलोकित थिए ।
हाम्रा पुर्खाले कठोर तपस्या गरेर आर्जन गरेको त्यो अलौकिक शक्ति, ज्ञान र विज्ञानलाई देखेर विश्वजगत् चकित–चकित भएको तथ्यलाई सलील ज्ञवालीले हामीमाझ देखाइदिनुभएको छ । विश्वविख्यात विद्वान्हरूका दृष्टिमा पूर्वीय सभ्यता कस्तो छ ? आफ्नो सभ्यता र संस्कृतिको उपहास गर्दै, आधुनिताको मुखुण्डो लगाएका निकै सुसंस्कृत हौं भन्दै नाक फुलाउने समुदायलाई गतिलो झापड भएर आएको छ कृति ।
सुगन्धित फूलको बगैंचालाई तहसनहस पारेर मरुभूमिको बगैंचामा कागजको फूलमा सुवास उत्पन्न गर्छौं भन्ने धूर्त समुदायलाई पछ्याएर हिँड्ने नालायकहरूलाई गतिलो शिक्षा भएर आएको छ यो कृति । विद्वान्का दृष्टिमा हाम्रो सभ्यताको गहिराइ र उचाइ कस्तो छ भन्ने कुरालाई सलील ज्ञवालीले संकलित गरेर आजको समाजलाई जागृत गराउने ठूलो जमर्को गर्नुभएको छ । यो महान् कार्यमा तपस्यारत हुनुहुन्छ नेपाल आमाका यी सपुत ।
सलील ज्ञवालीको ‘ग्रेट माइन्ड्स अव इन्डिया’ साना दुःखले आर्जन गरेको कृति होइन । नेपाल आमालाई माया गर्ने नेपालका सच्चा पुत्र हुन् सलील ज्ञवाली । भारतलाई कर्म भूमि बनाएर पसिना बगाउँदै जीवनको ५ दशक बिताइसकेका ज्ञवाली कटिबद्ध छन्– आजको पुस्तालाई पूर्वीय सभ्यतासँग परिचित गराउन । कठिन तपस्याबाट जन्मिएको खोजमूलक कृति हो यो । यस्तो महत्त्वपूर्ण कृतिलाई नेपाली भाषामा डा. गोविन्दराज भट्टराईले अनुवाद गरेर मातृऋण चुकाउनुभएको छ ।
यो कृतिलाई हृदयका आँखाले पढेर, यसका भावहरूलाई मस्तिष्कको बगैंचामा रोप्ने हो भने आत्मरञ्जन अवश्य हुन्छ । जीवनको गतिले जब लक्ष्य समात्छ, तब जीवन सार्थक हुन्छ । सभ्यतालाई बुझ्न सके लक्ष्य सुस्पष्ट हुन्छ । सभ्यताबिनाको मान्छे त जरा उखलिएको वृक्षको भाँती डगमग–डगमग गरिरहन्छ । अशान्तिको दलदलमा फस्छ । आफूलाई चिन्न सके मानवले शान्ति प्राप्त गर्छ । जब आफूलाई आफैंमा भेटिन्छ, तब सम्पूर्ण तनाव समाप्त हुन्छ ।
हो, विश्वविख्यात विद्वान्हरूको दृष्टिबाट वेद, उपनिषद्लाई चिन्न सक्यौं भने हाम्रो मुखबाट पनि डा. एपीजे अब्दुल कलामले भनेझैं वाणी निस्किन्छ, ‘वेदहरू प्राचीनतम शास्त्र हुन् र ती भारतवर्षका अनमोल सम्पदा पनि । भारतीय संस्कृतिको आत्मा नै वेदमा अडिएको छ । सम्पूर्ण विश्वले वेदको महत्त्वलाई स्वीकारेको छ ।’
कलामको यो विराट चिन्तन पढ्दा हृदय गद्गद हुन्छ । हृदयमा हात राखेर मनन गरौं के वेद, उपनिषद र गीतालाई कुनै धर्म, जात, भूगोल र सम्प्रदायमा सीमित गर्न सकिन्छ ? किन हामी हाम्रो विराट ज्ञानलाई संकुचित धारबाट मात्र हेर्छौं ? हाम्रा प्राचीन ज्ञानले विराटतालाई आलोकित गरेको छ । प्राचीन ज्ञान विश्व कल्याणका लागि हो । यो निजत्वभन्दा माथि हुन्छ । कुनै धर्मको पेवा हुँदैन । यस्तो जीवन जिउने कला सिकाउने दिव्यज्ञान कसरी अपूर्ण हुन्छ ? हामी पूर्ण ज्ञानलाई तिरस्कार गरेर, नौलो नौलो ज्ञानको खोजीमा यो अमूल्य सम्पदालाई लत्याउँदै छौं । म पूर्वीय सभ्यतालाई विद्वान्हरूको दृष्टिबाट पढ्दै छु आफ्नै आमालाई ।
प्राचीन संस्कृति र पूर्वीय वाङ्मयको विराट क्षेत्रलाई पनि विश्वविख्यात विद्वान्हरूको आँखाबाट बुझ्ने कोसिस गर्दै छु । जुलिअस रोबर्ट ओपेन्हाइमर, आर्थर सोपेन्हावर, अल्बर्ट आइन्स्टाइन, विलियम वर्डस्वर्थ, जर्ज बनार्ड शा, ह्युस्टन स्मिथलगायत ११९ जना दार्शनिक, वैज्ञानिकहरूको पूर्वीय वाङ्मयप्रतिको विराट दृष्टिकोण नै यो पुस्तकको आकर्षण हो ।
हामी कति साँधुरो दृष्टि लिएर हिँडेका रहेछौं भन्ने कुरा स्पष्ट हुन्छ आजका समाजको आजका मनलाई छाम्दा । एक पटक हामीले बुझ्नै पर्छ हाम्रा पुर्खाहरू कस्ता रहेछन् ? वेद के हो ? उपनिषद्मा के छ ? गीताको महत्त्व र उपयोगिता मानव जीवनका लागि कालातीत छ । यो विज्ञानलाई आत्मसात् मात्र गर्न सके मानव जीवनका तमाम समस्या निर्मूल हुन्थे ।
सलील चिन्तित छन् पूर्वीय सम्पदाबाट विमुख हुँदै गएका नेपाल आमाका सन्ततिप्रति । उनी मानव सभ्यतालाई आफैंसँग परिचित गराउन चाहन्छन् । पुस्तक पढ्दै गर्दा म दङ्दास भएकी छु । अमूल्य खजाना हात लागेको झैं अपार खुसी मिलेको छ । मौखिक रूपमा जति भट्याए पनि आधिकारिक रूपमा यो सत्य बाहिर आएको थिएन ।
सलीलले विश्वविख्यात विद्वान्हरूको वाणीलाई कति मज्जाले संगृहीत गरेर दह्रो प्रमाण पेस गर्न सक्ने बनाएका छन् । भौतिकताको माखेसाङ्लोमा बाँधिएका आजका बढो बौद्धिक र तार्किक हुँ भन्नेहरूलाई मुखमा बुझो लगाउन यो कृति उपयुक्त हुन्छ । आजका शिक्षित मनुवाले विश्वविख्यात विद्वान्हरूका कुरा त ध्यान दिएर सुन्लान् नि ! हाम्रा ऋषिमुनिहरूलाई उपहास गर्ने नवशिक्षितहरूले अब पनि चेत्लान् कि नचेत्लान् ?
यही पुस्तकबाट हर्मन हेस्से मलाई सम्झाउँछन्, ‘भारतवर्ष कुनै देश वा भौगोलिक परिधि मात्र होइन, अपितु यो आत्माको आवासगृह र उसको युवाकाल पनि हो; सर्वव्याप्ति हो पुनः अदृश्यमान तत्त्व एवं एक सार्वकालिक एकत्व पनि हो ।’
सत्य त आखिर सत्य नै हुने रहेछ । विद्वान्ले सधैं सत्यको पक्षमा वकालत गर्दा रहेछन् । नमन छ ती सम्पूर्ण विद्वान्हरूलाई, जसले मानवताको गतिलो उदाहरण प्रस्तुत गरेका छन् । निष्कपट, निश्छल र निर्मल हृदयको आँखाले देखेका पूर्वीय वाङ्मयका बलिया पाटाहरूलाई विश्वसामु व्याख्या गर्न कति पनि कन्जुस्याइँ गरेका छैनन् ।
पुस्तक पढेपछि बेलाबेलामा यस्तो पनि लाग्यो–
धिक्कार छ हामीलाई । आफूलाई चिन्न नसकेर आज साँच्चै हामी विक्षिप्त भएका रहेछौं । संसारलाई हेर्न हाम्रा यी २ आँखा पर्याप्त छन् तर आफूलाई हेर्न ऐना नै चाहिन्छ । सलील ज्ञवालीले यो कृति ऐना स्वरूप हाम्रो अगाडि ल्याइदिनुभएको छ तर पनि यो ऐना उठाएर एकचोटि आफ्नो अनुहार हेर्ने जमर्को गर्दैनौं कि भन्ने पिर पनि परेको छ । सलील ज्ञवालीले २० वर्षको निकै लामो समय खर्चेर यो कृति हामीलाई उपहार दिनुभएको छ । यो पुस्तकमार्फत हाम्रो विराट संस्कृति, सभ्यता र सम्पदासँग हामीलाई साक्षात्कार गराइदिनुभएको छ ।
प्रा. गोविन्दराज भट्टराई आफ्नो भूमिका मार्फत् हामीलाई यसरी अझ सजग गराउनुहुन्छ–
‘योगवाशिष्ठले भन्छन्– प्रत्येक अणुको रिक्तताभित्र अरू विशाल विश्व छन्; ती एउटा सूर्य किरणमा विद्यमान बिन्दुझैं बहुविध छन्; आज आएर हामी यी सत्य स्वीकार्दै छौं । हामी सधैं अनन्तताको छेउमा छौं, उनीहरू अन्त्य भेट्यौं भन्ने भ्रान्तिमा । यो सम्पूर्ण ज्ञानराशि संस्कृतमा छ । हाम्रा वर्तमान भाषासम्म त्यो उज्यालो सर्न सकेको छैन । यस सम्बन्धमा फ्रेडरिक भोन स्लेगेल्लले बोलेका शब्द कति विचारणीय छन्– यो संसारमा संस्कृत भाषाको जस्तो नियमनिष्ठा भएको र त्यति दार्शनिक सुस्पष्टताले युक्त अन्य कुनै भाषा छैन, ग्रिसेली पनि छैन । यस्तो आदिम कल्पवृक्ष हिजोसम्म हाम्रै भूमिमा फल्दै थियो तर आज हाम्रै जडमित्रहरूले त्यसको जरा उत्तानो पारे; उग्र भौतिकता त्यसमाथि घोडा चढ्यो, काँटी ठोक्यो र मरणासन्न छ आज । यो हाम्रो सभ्यतामा आएको सबैभन्दा ठूलो ह्रासोन्मुख यात्रा हो । यस दुष्कर्मका लागि हामीलाई समयले सराप्ने छ । हाम्रा अन्धवेग र उत्तेजनाहरूको महँगो मूल्य भोलिले तिर्नुपर्ने छ ।’