काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘समस्याहरू छन् । तिनको कारण र समाधान पनि छ ।’ उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताए ।
‘हामीले थुप्रै मेडिकल कलेजहरू बनायौं, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौं । कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन् । त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ । सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ,’ उनले भने, ‘हाम्रा छोरीहरूले विशेषज्ञ चिकित्सको सपना देख्नुभएको छ । त्यो बन्ने प्रतिक्षामा हुनुहुन्छ । कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनुभएको छ, यो अहिलेको समयको उपलब्धि हो । हामी भावनात्मक ढंगले चल्नु हुँदैन । अहिले जति पनि समस्याहरू छन् । ती विकासको गतिसँगै आएका हुन्, त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले त्यसमा लाग्न आग्रह गरे ।
कार्यक्रममा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब १ सय ४० युवाको सहभागीता थियो । उनीहरुले आफ्ना क्षेत्रको अवस्था र समस्या राखेका थिए । प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस रूपमा प्रतिवेदन ल्याउन आग्रह गरे । त्यसलाई सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटेर लाने प्रतिबद्धता उनले व्यक्त गरे ।