काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा विवाहको उमेर घटाउनुपर्ने पक्षमा छलफल भएको छ । नेपालको मौजुदा कानुन मुलुकी संहितामा विवाहको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने छ । समितिमा भने विवाहको उमेर १८ वर्षमा झार्नुपर्नेबारे छलफल भएको हो । समितिमा रहेका बहुमत सांसदहरूको राय विवाहको उमेर घटाउनुपर्नेमा छ ।
गृहमन्त्री रमेश लेखकसमेत सहभागी रहेको बैठकमा उनले विवाहको उमेर घटाउन सकिने बताए । गृहमन्त्री लेखकले बालबालिकासम्बन्धी ऐन संशोधन गर्ने विषयमा पनि छलफल भइरहेको बताए । गृहमन्त्री लेखकले मन्त्रिपरिषद्मा बालबालिकासम्बन्धी ऐन संशोधनको विषय छलफलकै क्रममा रहेको र विवाहको उमेर घटाउने कि रोमियो जुलिएट कानुन प्रयोग गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।
‘हामी बालबालिकासम्बन्धी ऐनलाई संशोधन गर्दैछौं । बालबालिकासम्बन्धी ऐन संशोधन गर्ने प्रक्रिया अहिले मन्त्रिपरिष्द्मा विचाराधीन छ । ऐनलाई संशोधन गर्न संशोधन विधेयक तयार भएको छ । त्यो संशोधन विधेयकमा विवाहको उमेर घटाउने हो कि भनेर पनि हामीले छलफल गरिराखेका छौं । अब हजुरहरूको पनि धारणा त्यसअनुरुप आएकाले अब यसमा दुई वटा उपाय छन् । एउटा विवाहको उमेर घटाउने, यसलाई १८ मा लैजाउँ भन्ने छ । अर्को चाहीँ रोमियो जुलिएट ल इन्टरड्युस गर्ने हो कि । धेरै ठाउँमा त्यो कानुनलाई स्वीकार गरिएको छ,’उनले भने ।
विवाहको उमेर घटाउने वा रोमियो जुलिएट अवधारणालाई नेपालको कानुनमा समावेश गर्ने दुईमध्ये एक गर्नैपर्ने उनको धारणा छ । रोमियो जुलिएट कानुनमा १६ देखि १८ वर्षको बीचमा युवायुवतीको शारिरीक सम्बन्ध भयो भने त्यसलाई बलात्कार मान्न नमिल्ने व्याख्या रहेको पनि मन्त्री लेखकले बताए । संसारका धेरै देशहरूमा ‘रोमियो जुलिएट ल’ को प्रयोग भइरहेको पनि मन्त्री लेखकले बताए । ँ