काठमाडौं : म्यानमारको यांगुनमा ‘नेपाल–म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ सकिएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार एक्स्पोमार्फत बौद्धमार्गी पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिइएको छ ।
नेपाल र म्यानमारबीच ६५औं कूटनीतिक सम्बन्ध स्थापित भएको अवसरमा पर्यटन बोर्ड र म्यानमारस्थित नेपाली दूतावासको सहकार्यमा २१–२२ मार्चमा एक्स्पो भएको थियो ।
एक्स्पोमा बौद्ध पर्यटन प्रवद्र्धनसँगै नेपाली पर्यटकीय उत्पादन, सूचना प्रविधि र अन्य वस्तु प्रदर्शन गरिएका थिए । एक्स्पोमा नेपालबाट १६ र म्यानमारका ३० पर्यटन कम्पनीले भाग लिएका थिए ।
नेपालले बौद्ध पर्यटन प्रवद्र्धनमा जोड दिँदै म्यानमारका पर्यटकलाई नेपालस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानमार्फत लुम्बिनी भ्रमण गर्न आग्रह गरेको हो ।
म्यानमारलाई बैंकिङ तथा वित्तीय प्रविधि क्षेत्रको विकासका लागि सहयोगी बनाउन नेपाली सूचना प्रविधि क्षेत्रलाई प्रस्तुत गरिएको थियो ।
कार्यक्रम उद्घाटन म्यानमारका संघीयमन्त्री यु टुन ओन, म्यानमारका लागि नेपालका राजदूत हरिशचन्द्र घिमिरे र म्यानमार चेम्बर अफ कमर्सका अध्यक्ष यू ए विनले संयुक्त रूपमा गरे ।