रौतहट : रौतहटको गरुडा नगरपालिका–५ शिवनगरमा सञ्चालित आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरका सञ्चालक उमेश प्रसाद जयसवाल पक्राउ परेका छन् ।
मापदण्ड पूरा नगरी अस्पताल सञ्चालन गरेको पाइएपछि जयसवाललाई पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई पटक–पटक अटेरी गरी मापदण्ड पूरा नगरी अस्पताल सञ्चालन गरेकाले जयसवाललाई पक्राउ गरिएको उनको भनाइ छ । पक्राउ परेका जयसवाल अहिले जिल्ला प्रहरी कार्यालय गौरको हिरासतमा छन् ।
केहीदिन अघि मात्र मुख्यमन्त्री सिंहले उक्त हस्पिटलमा अनुगमन गरेका थिए । अनुगमनका क्रममा मापदण्ड पूरा नभएको भन्दै मुख्यमन्त्री सिंहले आनन्द हस्पिटल बन्द गर्न निर्देशन दिएका थिए । मापदण्ड पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्नका लागि मुख्यमन्त्री सिंहले आनन्द हस्पिटलका सञ्चालक जयसवाललाई सचेत गराएका थिए ।