रौतहट : रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिका ४ गरुडा बाजारमा भीषण आगलागी हुँदा ५ घर जलेर नष्ट भएका छन् ।
गरुडा तरकारी बजारमा रहेको ५ वटा फुसको घरमा भीषण आगलागी भएको हो ।
आगलागीबाट १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलगीमा दुई वटा ग्यास सिलिण्डर विष्फोट भएको थियो । स्थानीय कमल जयसवालसहित अन्य व्यक्तिले भाडामा लिएर होटल सञ्चालन गर्दै आएको घरमा आगलागी भएको हो ।
आगलागीका कारण ५ वटै घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरमा राखिएको विभिन्न सामान समेत जलेर खरानी भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
आगलागी भएको खबर पाउनसाथ गरुडा नगरपालिकाबाट दमकल पठाइएको थियो । तर उक्त दमकलले आगो पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि गौर नगरपालिकाको बारुण यन्त्र मगाइएको थियो । सेकुवा तताउन बालेको आगोबाट सल्केर आगलागी भएको बताइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।