बझाङ : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले नेपालको राजतन्त्रको पुनःस्थापनालाई असम्भव र अनुपयुक्त भएको बताएका छन् । उनले राजतन्त्रको अस्तित्वलाई ‘आर्यघाटमा दाहसंस्कार गरिसकेको’ भन्दै वर्तमान गणतन्त्रको विकल्पको रूपमा उन्नत र परिस्कृत गणतन्त्रको आवश्यकता रहेको बताए ।
सामाजिक संजालमा उनले भनेका छन्, ‘हाम्रो पुस्ताले राजतन्त्रको शासकीय कष्ट र पीडा भोगेको छ । जनताको अधिकार कुण्ठित गरेर तिनलाई रैति बनाइएको थियो । हामी, एक्काइसौं शताब्दीका सचेत नागरिक भएको नाताले राजतन्त्रकोविरुद्ध लडिरहेका छौं । अब समय आएको छ कि हामी गणतन्त्रको उन्नति र परिस्कृत गर्न जुटौं ।’
उनले हिजोको तीनकुनेको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको मुख्य दोष रहेको उल्लेख गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई सम्पूर्ण सेवासुविधा खोसेर गिरफ्तार गर्नुपर्ने बताएका छन् । महरले राजतन्त्रको पुनर्निर्माणले देशमा हिंसा, लुटपाट र जनताको अधिकार हननको स्थितिलाई निम्त्याएर जनतालाई फेरि अन्धकारमा फसाउने षड्यन्त्र भएको उल्लेख गरेका छन् ।
साथै, महरले अहिलेको युवापुस्ताले राजतन्त्रको कष्ट र दमनको अनुभव नगरेको भएपनि उनीहरूले समाजमा हुल्लडबाज र भ्रममा परेको तत्वहरूको प्रभावबाट आफूलाई जोगाउन आग्रह गरेका छन् । राजतन्त्र पुनः फर्किन्छ भने देशमा विकास र समृद्धिको सम्भावना समाप्त हुने उनको भनाइ छ ।