२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

मलेसियाका नेपाली कामदारका समस्याबारे राजदूत तिमल्सिनाको ध्यानाकर्षण

shivam cement
तिलोचन गौतम
२०८१ चैत १७ गते ०७:०८
Shares
मलेसियाका नेपाली कामदारका समस्याबारे राजदूत तिमल्सिनाको ध्यानाकर्षण

मलेसिया : नेपाली जनसम्पर्क समिति मलेसियाले उक्त मुलुकमा कार्यरत नेपाली कामदारले भोग्नुपरेका आधा दर्जनभन्दा बढी समस्याबारे नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सिनाको ध्यानाकर्षण गराएको छ ।

नेपाली राजदूतावास क्वालालम्पुरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी समिति सभापति चोलाकान्त पंगेनीले समितिका पदाधिकारीहरूको रोहवरमा ध्यानाकर्षण गराएका हुन् । 

समितिले मलेसियामा रहेका नेपाली श्रमिकहरूको सुरक्षित रोजगारी, उचित पारिश्रमिक,  छात्राबास, स्वास्थ्य उपचार, सचेतना, जेल र घर फिर्तालगायत समस्या समाधान तथा उनीहरूको हकहित संरक्षणबारे ध्यानाकर्षणपत्र बुझाएको छ । छलफल ३ घन्टाभन्दा बढी समय चलेको थियोे ।

दूतावासका तर्फबाट मलेसियाका लागि राजदूत  डा. तिमल्सिना र प्रथम सचिव बलिरामप्रसाद धामी सहभागी थिए । नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति पंगेनीले दूतावासले घर फिर्ती समस्या समाधानका लागि दूतावास बढी सक्रिय हुनुपर्ने देखिएको भन्दै दूतावासले आधिकारिक रूपमा श्रमिकको उद्धार तथा सहयोगका लागि स्वदेश फिर्ता हुने हवाई टिकट माग गरेमा जनसम्पर्क समितिले आफ्नो क्षमताले भ्याएसम्म हवाई  टिकट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष पंगेनीले नेपाली कामदारको अकालमा मृत्यु नहोस् भन्ने कुरामा जोड दिँदै दूतावासले राजनीतिक आधारमा कसैलाई नजिक र कसैलाई पर नराखी सम्मानजनक अभिभावकीय भूमिका निभाउन आग्रह गरे । उनले जनसम्पर्क समिति नेपाली दूतावासको गरिमाप्रति सचेत रहेकोे भन्दै दूतावास पुग्दा सबैले सभ्य, शिष्ट र मर्यादित व्यवहार देखाउनसमेत अनुरोध गरे । 

ध्यानाकर्षणपत्र ग्रहण गर्दै राजदूत डा. तिमल्सिनाले  जनसम्पर्क समितिले दिएका सुझावलाई दूतावासका तर्फबाट मनन गर्ने, सुझावअनुसार विधिसम्मत काम गर्ने र श्रमिकका मामिलामा कसैसँग पनि सम्झौता नगरिने प्रतिबद्धता व्यक्त गरे ।

छलफलका क्रममा नेपाली जनसम्पर्क समितिका महामन्त्री हरि कोइराला, प्रवक्ता सरोज दाहाल,  इन्द्र भण्डारी, दीपेन्द्र शाही, डेबिड घिमिरे र पत्रकार घनश्याम चौधरीलगायतले मलेसियामा श्रमिकका समस्या र समाधानका उपायहरूबारे आ–आफ्ना धारणा राखेका थिए । मलेसियामा हाल करिब ४ लाख नेपाली कार्यरत छन् ।
 

सम्बन्धित खबर