काठमाडौँ : शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बैठकको औचित्य नभएको बताएका छन्।
सचिवालयको आज बसेको बैठकमा बोल्दै उनले बैठक आवश्यक नभएको बताएका हुन्। 'विवाद भइरहेको अवस्था छ। यस्तो अवस्थामा बैठक राखेर काम छैन। बैठकको औचित्य पनि छैन', ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, 'त्यसैले अब बैठक नराखौं।'
स्रोतका अनुसार विष्णु पौडेल बाहेक सबैले बैठक राख्नुपर्ने कुरामा जोड दिएका थिए। बैठकमा पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि मंसिर १३ को बैठकमा ओलीले लगाएको आरोपको खण्डन गरेका थिए। उनले बुँदागत रुपमा आफूमाथि सबैजसो आरोपको खण्डन गरेका थिए। प्रचण्डले बैठकबारे ओलीको धारणाको पनि खण्डन गर्दै बैठकको औचित्यबारे बोलेका थिए।
नेकपाका प्रवक्ता श्रेष्ठले पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक र अनौपचारिक दुबै खाले छलफललाई निरन्तरता दिने भन्दै कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिवद्धता नेताहरुबाट आएको बताए ।
बैठकको शुरुमा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ६२ औँ जन्मोत्सवका अवसरमा शुभकामनासहित केक काटी प्रधानमन्त्री एवं पार्टीका ओली,अध्यक्ष दाहालसहितका नेताहरुले शुभकामना दिएका थिए । अर्को बैठक भोलि १ बजेका लागि तय गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies