२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बढ्दै छ नेपालमा उद्योग दर्ता र विदेशी लगानी

ADV
छबि सापकोटा
२०८१ असार १९ गते २०:४१
बढ्दै छ नेपालमा उद्योग दर्ता र विदेशी लगानी

काठमाडौं : नेपालमा लगानीको लागि भर्जिज ल्याण्डको रुपमा रहेको चर्चा हुदै गर्दा नेपालमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । नेपाली युवा जनशक्ति विदेश पलायन बढिरहेको  भएपनि पछिल्लो अवस्थामा विदेशी लगानीकर्ताको आकर्षण बढेको उद्योग विभागको तथ्यांकले देखाएको छ ।

आर्थिक मन्दीको अवस्था भएपनि उद्योग दर्ता र लगानी प्रस्ताव र विदेशी लगानी स्विकृति समेत बढेको छ । सरकारको लक्ष्य भन्दा बढी विदेशी लगानी प्रस्ताव आएको छ भने विदेशी लगानीको लागि स्विकृति लिनेको संख्यामा समेत वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा नेपालको औद्योगिक क्षेत्रमा दुई खर्ब १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव भएको छ । जसमा स्वदेशी लगानी प्रस्ताव एक खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ र विदेशी लगानी ४४ अर्ब ३४ करोड रहेको छ । यो गत आर्थिक वर्ष भन्दा धेरै हो । गत आर्थिक वर्षमा दुई खर्ब १४ अर्ब रुपयाँ बराबरको कुल लगानी प्रस्ताव आएको थियो । त्यसमा स्वदेशी लगानी एक खर्ब ७५ अर्ब ६० करोड र विदेशी लगानी ३८ अर्ब ४० करोड रुपैयाँ प्रस्ताव आएको थियो । 

चालु आर्थिक वर्षमा उद्योग विभागमा ठूला, मझौला, साना उद्योग दर्ताको संख्या तीन सय ८३ दर्ता भएका छन । जसमा वैशाखमा ३८ वटा उद्योग दर्ता भएका थिए भने जेठमा ५९ वटा दर्ता भएका छन । उद्योग बिभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा ठूला उद्योग ४९ वटा, मझौला उद्योग ५० वटा र साना उद्योग दुई सय ८४ वटा गरी जम्मा तीन सय ८३ दर्ता भएको छन । जसबाट २६ हजार २७ वटा रोजगारी सिर्जना अपेक्षा गरिएको छ । गत वर्षमा भने स्वदेशी तथा विदेशी गरी तीन सय २२ वटा मात्र उद्योग दर्ता भएका थिए । 

११ महिनामा विदेशी लगानी स्वीकृतिको संख्या भने तीन सय ५५ वटा छन् । प्रस्तावित विदेशी लगानी परियोजनाबाट १७ हजार ६ सय ४२ जनालाई रोजगारीको अवसर हुने विभागको अनुमान छ । गत वर्ष भने तीन सय २७ वटा विदेशी लगानी स्वीकृत भएका थिए । चालु आर्थिक वर्षको जेठमा मात्रै ३६ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ, जसमा एक अर्ब एक करोड रुपैयाँ विदेशी लगानी हो ।

जेठमा ठूला उद्योग नौ वटा, मझौला उद्योग १६ वटा र साना उद्योग ३४ वटा गरी कुल ५९ वटा उद्योग दर्ता भएका छन् । यस्तै जेठमा विदेशी लगानीका ५२ वटा परियोजना स्वीकृत भएका छन् । यस्तै ११ महिनामा प्याटेन्ट दर्ता दुई वटा, डिजाइन दर्ता ११ वटा, ट्रेडमार्क दर्ता पाँच हजार चार सय ९४ वटा, प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) ४५ वटा उद्योगले दर्ता गराएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise