-भवानीप्रसाद पोखरेल
आठराई– २, खाम्लालुङ (दोरप) तेह्रथुम जिल्लामा जन्म भई बेलबारी– २, लालभित्ती, मोरङलाई कर्मथलो बनाउँदै पत्रकारिता र साहित्यमा रमाउने स्रष्टा केशु विरहीको दशौं कृति ‘उपद्रष्टा हर्कमान तामाङ’ (जीवनी/अनुसन्धानमूलक, २०८१)को संक्षेपमा समीक्षा गर्दै छु ।
विरहीका थुप्रै गजल, गीत, कथा, बालकथा, कविता, लघुकथा, अनुसन्धानमूलक लेख तथा समीक्षाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन् । बाहिरी आवरण उपद्रष्टाको सुन्दर शालीन तस्बिरले आकर्षक देखिएको छ । पछाडिको पातोमा अनुसन्धान गर्नेको तस्बिर र विवरणले पुस्तकको गरिमा अझ बढाएको छ ।
प्रकाशक बेलबारी साहित्य विकास समिति, बेलबारी, मोरङ, मूल्य ५०० रुपैयाँ मात्र रहेको पुस्तक सहज ढंगले उपलब्ध भइरहेको छ ।
लेखकले यस कृतिलाई समाजकै लागि समर्पण गरेका छन् । पृष्ठ संख्या भूमिकासहित १६६ छ । भाषा सरल छ । ‘उपद्रष्टा हर्कमान तामाङ’ हर्कमानलाई बुझ्न, जान्नका लागि उपयुक्त छ । खोज अनुसन्धान गर्नेका लागि पनि उपयुक्त रहेको मेरो ठम्याइ छ ।
अनुसन्धान अक्षयकोष निर्माणार्थ भनी लेखक लेख्नुहुन्छ, ‘यस पुस्तकको विक्रीबाट प्राप्त भएको रकमको कम्तीमा ५० प्रतिशत रकम बेलबारी र यस क्षेत्रको अनुसन्धान कार्यलाई प्रवर्द्धन गर्न सहयोग पुग्नेगरी एउटा अक्षयकोषको स्थापना गरिने र उक्त कोषको ब्याजबाट खोज तथा अनुसन्धानका क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई वार्षिक रूपमा पुरस्कृत गरिने छ ।’
यो एउटा स्तुत्य कार्य रहेको छ । विरहीजीलाई बधाई तथा शुभकामना छ ।
‘शुभकामना’ भनी नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई लेख्छन्, ‘सादगी राजनीतिज्ञको छवि बनाएका तामाङ साहित्य क्षेत्रमा पनि परिचित हुनुहुन्छ ।’ त्यसैगरी ‘विरहीको उपयुक्त पात्र चयन’ भनी प्रा.डा. टंकप्रसाद न्यौपानेद्वारा आफ्ना भनाइ राख्दै ‘विरहीले तामाङलाई उपद्रष्टा उपाधि दिएका छन्, उपद्रष्टा भनेको साक्षी हो, सल्लाहकार वा तटस्थ रहेर गुण र दोषको विवेचना गर्ने व्यक्ति हो’ भनी मूल्याङ्कन गरिएको छ ।
लेखकको कलमबाट आफ्ना भावना पुस्तकका बारेमा सारगर्भित तवरले सुन्दर ढंगबाट मुखररित भएका छन् । लेखक भन्नुहुन्छ, ‘खोज अनुसन्धान मेरो सोखको विषय हो ।’
हो पनि उहाँ कहिले बेलबारीको साहित्यिक इतिहास लेख्नुहुन्छ, कहिले तेह्रथुमको साहित्यिक इतिहास लेखेर यसको थप प्रमाण दिनुभएको छ । अब छिट्टै यस्तै गहन पुस्तकहरू पाठकले पढ्न पाऊन्, फेरि पनि शुभकामना छ ।
विषयसूची तपशीलबमोजिम छ :
शुभकामना, विरहीको उपयुक्त पात्र चयन, लेखकको कलमबाट, पहिलो अध्याय– १ : हर्कमान तामाङको जीवनी– (क जन्म र बालयकाल, ख) शिक्षा, ग) वैवाहिक सम्बन्ध र सन्तान, घ) संलग्नता, ङ) भ्रमण, च) प्रकाशित कृति, छ) पुरस्कार तथा सम्मान । दोस्रो अध्याय– २ : हर्कमान तामाङको व्यक्तित्व, साहित्यिक व्यक्तित्व– क) कवि व्यक्तित्व, ख) कथाकार व्यक्तित्व, ग) उपन्यासकार व्यक्तित्व, घ) समीक्षक व्यक्तित्व, ङ) निबन्(धकार व्यक्तित्व, च) अनुवादक व्यक्तित्व, छ) सम्पादक व्यक्तित्व, ज) गीतकार व्यक्तित्व, झ) गायक व्यक्तित्व ।
साहित्येत्तर व्यक्तित्व : क) सामाजिक व्यक्तित्व, ख) पारिवारिक व्यक्तित्व, ग) राजनीतिक व्यक्तित्व, घ) जागिरे व्यक्तित्व, तेस्रो अध्याय– ३ हर्कमान तामाङको साहित्यिक यात्रा र चरण विभाजन । चौथो अध्याय– ४ हर्कमान तामाङका साहित्यिक रचनाको अध्ययन : क) कथा, ख) कविता, ग) उपन्यास, घ) निबन्ध ।
अध्याय– ५ हर्कमान तामाङको मान्यता, प्रवृत्ति र योगदान : क) वैचारिकता, ख) कर्मवादी तथा आदर्शवादी जीवनदृष्टि, ग) पूर्वीय दर्शनको अध्येता, घ) शालीन विद्रोह, ङ) निष्ठाको राजनीति, च) क्षमाशील व्यक्तित्व, छ) निष्काम कर्मयोगी, ज) योजनाकार, झ) सांस्कृतिक अभियन्ता, ञ) युग चिन्तक, ट) अन्तर्मुखी स्वभाव ।
हर्कमान तामाङको साहित्यिक प्रवृत्ति : क) सामाजिकता, ख) कानुनी राज्यमा जोड, ग) मनोवैज्ञानिकको सफल प्रस्तुति, घ) श्रमको दुरुपयोगमाथि बिमति, ङ) राष्ट्रप्रेम, च) मानवतावाद, छ) व्यावहारिक शिक्षामा जोड, ज) बालअधिकारको जोड, झ) सरल भाषाशैली ।
हर्कमान तामाङको साहित्यिक योगदान : क) संख्यात्मक योगदान, ख) ऐतिहासिक योगदान, ग) गुणात्मक योगदान । अध्याय– ६, उपसंहार, परिशिष्ट तथा सन्दर्भ सामग्री सूची ।
उपरोक्त शीर्षकभित्र रही उपद्रष्टा हर्कमान तामाङको पुस्तक तयार पारिएको छ । एक पटक पढ्न पाठकसँग म पनि अनुरोध गर्छु । यो पढेपछि नै यसभित्रको चुरो र कुरो बुझ्न सहज हुने नै छ ।
यस पुस्तकलाई गहिरिएर पढ्दै जाँदा यी कुराहरूको पाठकलाई सहज ढंगबाट जानकारी प्राप्त हुन्छ । हर्कमान तामाङ भोजपुरबाट कलकत्ता पुग्छन् आमाबाबाका साथमा । घरमै साउँ अक्षर बाबाले सिकाइ, पहिलो पटक विद्यालयमा पाइला टेक्दा उनी ७ वर्षका थिए ।
कलकत्ताबाटै कक्षा ४ को पढाइ पूरा भएपछि उनी दार्जिलिङमा पढ्न गए । त्यहाँबाट उनी स्नातक भए । दार्जिलिङ निवासी कृष्णकुमारी राईसँग विवाह भई २०३९ सालमा छोरा दिव्यको जन्म भयो ।
जेठीसँग सम्बन्धविच्छेदपछि दोस्रो विवाह पार्टीको सल्लाहमा भएको, व्यवहारमा एकरूपता आउन नसकेपछि एकअर्कोबाट अलग भएर छोरा–बुहारी नातिनीका साथमा रमाएर बेलबारीमा बसेका छन् ।
‘उपद्रष्टा हर्कमान तामाङ’ विभिन्न संघसंस्थामा आबद्ध छन् । उनी ३ पल्ट प्रतिनिधिसभामा एमाले पार्टीबाट सांसद भएका हुन् । उनी जिम्मेवारीबाट पछि नहट्ने र हुँदैन वा सक्तिनँ भन्ने स्वभाव उनमा नरहेको पेज ५ मा पढ्न पाइन्छ ।
तामाङको साहित्ययात्रा ‘भिखारी’ शीर्षकको कविताबाट सुरु गरी ‘कुसुमता’ कवितासंग्रह २०२८, दोस्रो कृति ‘धुवाँ, आगो र मानिस’ उपन्यास अनुवाद, २०४५, तेस्रो कृति ‘ब्रुनोको देशमा’ कथासंग्रह दोस्रो संस्करण २०७९ समेत छन् ।
उनले धेरै मान सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । जस्तै : प्रतिभा सम्मान, स्रष्टा सम्मान, स्वर्ण सम्मान, साहित्य सम्मान आदि ।
तामाङको व्यक्तित्व दोस्रो अध्याय पेज ११ मा पढ्न पाइन्छ । पुस्तकालयीय स्रोत, प्राथमिक तथा द्वितीय सामग्रीको उपयोग गरी प्राप्त रचनाका आधारमा तामाङको प्रवृत्ति, मान्यता र योगदानको मूल्यांकन गरी ‘उपद्रष्टा हर्कमान तामाङ’का बारेमा यो पुस्तक खँदिलो दस्ताबेजको रूपमा आएको छ ।
१० वर्षको उमेरमा उनको पहिलो रचना आएको पाइन्छ । उनी सामाजिक व्यक्तित्व, साहित्यिक व्यक्तित्व, राजनीतिक व्यक्तित्व भएका एक कुशल व्यक्ति हुन् भन्ने कुरा यस पुस्तकबाट थाहा हुन्छ । उनी जहिले पनि पञ्चायतको नजरमा रहे, प्रशासन उनको पछि लागिरहेको हुन्थ्यो । इलाम क्याम्पसमा प्रशासनमा काम गर्दा त्यहाँ घर बनाएका थिए । पार्टीका मान्छेहरूको आश्रय स्थल रहेको थियो उनको घर ।
प्रशासनले दुःख दिएपछि उनी दमक आएर काम गर्न थाले, त्यहाँ पनि पार्टी संगठनकै काम गरे, राजनीतिक संगठन गरी नै रहे । त्यसपछि बेलबारीमा शिक्षण गरे भगवती मा.वि. बेलबारीको प्रधानाध्यापक भएर राम्रो काम गरे, वामपन्थी संगठनमै लागिरहे ।
तेस्रो अध्याय साहित्यिक यात्राबारे छ । साहित्यकार हर्क तामाङ प्रतिभा र वातावरण दुवैको उपयोग गर्न सक्ने सफल भाग्यमानी सर्जक हुन् । सुरुवात कविताबाट गरे पनि उनको बढी रुचि भनेको कथा विधामा रहेको देखिन्छ ।
२०२९ देखि २०४७ सालसम्म उनको उर्वर अवधि रहेको पाइन्छ । २०४८ देखि २०६३ सालसम्म राजनीतिमा व्यस्त रहेका पाइन्छ । २०७२ सालपछि उनी ‘स्रष्टा समाज’मार्फत साहित्यमा थप व्रिmयाशील भएको पेज २९ पढ्दा थाहा पाइन्छ ।
चौथो अध्याय साहित्यिक रचनाहरू पेज ३३ मा उनका कथामा सरलता, भाषाशैलीको प्रयोग गरिएको छ । पढ्दा पाठकलाई आनन्द लाग्छ । वर्णनात्मक शैलीमा नाटकीकरण गरेर कथालाई अगाडि बढाउँदा कथा निकै सुन्दर र सशक्त बन्न पुगेको छ, प्रस्तुत कथामा बाह्य अर्थात् तेस्रो पुरुष दृष्टि बिन्दुको प्रयोग भएको पाइन्छ ।
वर्णनबाट अघि बढेको कथा वर्णनमै गएर टुंगिएको पाइन्छ । तामाङको कविता, उपन्यास, निबन्धहरू पनि सशक्त रूपमा रहेको छ ।
पाँचौं अध्यायमा उनी माक्र्सवादी लेखक चिन्तक हुन्, कर्ममा विश्वास गर्छन् भन्ने देखिन्छ । दोस्रो पटक धरानमा बस्न थाले । राजनीतिक प्रशिक्षण तथा संगठन विस्तारका कामलाई समेत निरन्तरता दिएको पाइन्छ ।
उनी एक आदर्शवादी व्यक्ति हुन् भनी ठोकुवा गर्न सकिन्छ । उनको आदर्श जीवन धेरैका लागि प्रेरणाका स्रोत बन्न पुगेको छ । दार्जिलिङमा रहँदा राहुल सांकृत्यायनको प्रवचन सुन्ने अवसर पाएका थिए । यिनी कम्युनिस्ट पार्टीका एक इमान्दार कार्यकर्ता हुन् ।
हर्कमान तामाङ एक कुशल योजनाकार पनि हुन् भन्ने कुरा उक्त पुस्तक पढिरहँदा थाहा पाइन्छ । यिनी विकासप्रेमी व्यक्ति रहेको पाइन्छ । यिनी सांस्कृतिक अभियन्ता, युगचिन्तक, राष्ट्रप्रेमी, मानवतावादी, व्यवहारवादी, बालअधिकारमा जोड, सरल भाषाशैलीको प्रयोग गर्ने व्यक्तिको रूपमा समेत उनी जानिन्छन् ।
छैटौं अध्यायमा उनी बहुआयामिक व्यक्ति हुन् भन्ने देखिन्छ । मनोवैज्ञानिक कथाकार हुन्, छोटकरीमा भन्नुपर्दा यो कृति बहुआयामिक व्यक्तित्व हर्कमान तामाङको जीवनी, व्यक्तित्व तथा कृतित्वको अध्ययन गर्न उनको साहित्यकारिताको निरूपण गर्न कोसेढुंगा सावित हुने छ ।
भविष्यमा उनको अध्ययन गर्न चाहनेका लागि एउटा दस्ताबेजका रूपमा बेजोड ढंगबाट ‘उपद्रष्टा हर्कमान तामाङ’का बारेमा यो कृति स्रष्टा केशु विरहीबाट आएको छ । उहाँहरू दुवैलाई बधाई तथा शुभकामना छ । एक पटक पढ्नै पर्ने पुस्तक रहेको छ ।