२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

विराटनगरमा तेस्रो मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

draupadi film
मध्यान्ह
२०८२ वैशाख ९ गते २१:०८
विराटनगरमा तेस्रो मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा वैशाख १३ गतेदेखि २० गतेसम्म विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिता सञ्चालन गरिने भएको हो ।

आज विराटनगरस्थित कञ्चनजंघा पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको जानकारी दिँदै आयोजक एमएम कप फाउण्डेशनका अध्यक्ष विप्लव घोषले नेपाली क्रिकेटको विकास र स्तरोन्नतिमा सहयोग पुर्‍याउने उद्देश्यले ५० ओभरको प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनका अनुसार नेपालमा एकदिवसीय ५० ओभरको प्रतियोगिता कम हुने भएकाले यसलाई निरन्तरता दिने लक्ष्य लिइएको हो ।

यसअघि पहिलो र दोस्रो संस्करण सुनसरीको इनरुवामा सम्पन्न भएको थियो। २०७५ र २०७६ सालमा सम्पन्न दुवै संस्करणमा विभागीय टोली आर्मी क्लबले उपाधि जितेको थियो । यसपटक प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, कोशी प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब गरी छ टोली सहभागी हुनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणमा शीर्ष स्थान हासिल गर्ने दुई टोलीबीच वैशाख २० गते फाइनल खेल हुनेछ । प्रतियोगिताको उद्घाटन खेल वैशाख १३ गते साविक विजेता आर्मी क्लब र एपीएफ क्लबबीच हुनेछ । हरेक दिन एउटा खेल खेलाइनेछ ।

प्रतियोगितामा करिब एक करोड रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ र ट्रफी प्रदान गरिनेछ भने उपविजेताले २ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई २५ हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र बलरलाई जनही १५ हजार रुपैयाँ र प्लेयर अफ द म्याचलाई ४ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

अध्यक्ष घोषले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउन थप योजना रहेको जानकारी पनि गराए ।

ADV

सम्बन्धित खबर

Advertise