विश्वभर मार्च ८ लाई विशेष उत्सबका साथ मनाइदैछ । नेपालमा पनि नारी अधिकार सुनिश्चितताको माग सहित यो उत्सब मनाइदैछ । वर्षेनि विश्वभर मनाइने यो दिवसको चिन्ता सधैं एउटै छ– नारीलाई दोस्रो दर्जाका रुपमा हेरिनु हुन्न । कयौं देशमा महिला आन्दोलन नै चलेको छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा महिला अधिकारको प्रत्याभूति दिलाइनुपर्ने माग सहित विभिन्न माध्यमबाट आवाज उठ्ने क्रम भइरहनुको अर्थ महिला र पुरुष बीचको मतभेद रोकिएको छैन । विशेषगरी कम विकसित र गरीब मुलुकहरुमा विभेद बढी छ । महिला विभेद नेपालमा पनि कम छैन । विशेषगरी आर्थिक, सामाजिक र लैंगिक रुपमा हुने विभेद अत्याधिक छ । घरेलु हिंसाका घटना बिस्तारै सार्वजनिक हुन थालेको छ । घर बाहिर हुने हिंसा र विभेदको चित्र झनै डरलाग्दो छ ।
नेपालको संविधानले विभेदलाई बर्जित गरेको छ । तर, व्यवहारिक रुपमा विभेद कायमै छ । संविधानको बाध्यकारी प्रावधानमाथि समेत अनेक पटक प्रहार भएका छन् । राजनीतिक दलहरु भित्रै महिला प्रति हुने विभेदका घटनाले समाजका कुनै क्षेत्र पनि विभेद रहित छैन भन्न सकिन्न । राज्य संयन्त्रमा पुरुष शासन कायमै छ । महिला सहभागिता संवैधानिक बाध्यताले मात्रै केही हदसम्म सुनिश्चित गरेको छ । तर, हरेक कार्यालय र निकायहरुको नेतृत्वमा महिला सहभागिता न्यून छ । जनसंख्या पुरुष भन्दा महिलाको धेरै हुने, तर नेतृत्वमा पुरुषको अत्याधिक बाहुल्यता हुनुले विभेदको रुप प्रष्टै पार्छ । कतिसम्म भने वर्तमान सरकारले महिला मन्त्रालयको नेतृत्व समेत पुरुषलाई दिएको थियो । पार्वत गुरुङ र लीलानाथ श्रेष्ठले उक्त मन्त्रालयको जिम्मेवारी लिएर महिलाप्रति प्रधानमन्त्रीको सोंच उदाङ्गो पारेको थियो ।
आँगनको सरकार भनिने स्थानीय तहमा महिलालाई संविधानको बाध्यकारी प्रावधानका कारण उपमै सीमित बनाएको छ । केही पालिका बाहेकमा महिला जति उपप्रमुख मात्रै छन् । संवैधानिक निकायहरुमै महिलाको सहभागिता नहुँदा नीजि क्षेत्रबाट धेरै आशा गर्ने कुरा भएन । महिलाको योग्यतामाथि हिजो जस्तै आजको गणतन्त्र नेपालमा पनि प्रश्न उठाउने गरिन्छ । घरभित्र होओस् अथवा बाहिर महिलाको योग्यतामाथि प्रश्न उठाउनु र दोस्रो दर्जाका रुपमा लिइएसम्म मानव समाज उन्नत बन्न सक्दैन । यो तथ्य बुझेकै बाट पनि विभेदित चिन्तन बदल्न सकेको देखिदैन । आजको समाजको यो बिकृत पक्ष बदल्न सवैभन्दा पहिले चिन्तन नै बदल्न जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies