काठमाडौंः वैदेशिक रोजागरीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–४ घर भएका ३४ वर्षीय सुदिप मान सिंह बस्नेत र भक्तपुर सूर्यविनायक नगरपालिका–८ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ घर भएका गुमान सिंह तामाङ रहेका छन् ।
पक्राउ मध्ये सुदिपले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र गुमानले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदिपलाई ललितपुर महानगरपालिका२५ भैंसेपाटीबाट शुक्रबार र गुमानलाई काठमाडौं महानगरपालिका–५ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।