वीरगन्ज : पर्साको पोखरीया नगरपालिका– ९ मा ‘मधेस माटो पार्क’ को शिलान्यास गरिएको छ ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संयुक्त रूपमा पार्कको शिलान्यास गरेका हुन् ।
मधेस प्रदेश सरकारले उक्त पार्कमा हाल बाउण्ड्री वाल (पर्खाल) र मुख्य प्रवेशद्वार निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।
‘मधेस माटो पार्क’लाई मधेसको एकता, पहिचान र गौरवको प्रतीकको रूपमा विकास गर्ने लक्ष्य लिएको अध्यक्ष राउतले बताए ।
उनका अनुसार पार्कमा मधेस प्रदेशका १३६ वटै पालिकाका ऐतिहासिक, सांस्कृतिक र पहिचान झल्काउने धार्मिक एंव ऐतिहासिक स्थलबाट संकलन गरिएको माटो स्थापना गरिनेछ ।
अध्यक्ष राउतले केही वर्षअघि सञ्चालन गरेको ‘माटो यात्रा’ अभियान अन्तर्गत मधेस प्रदेशका विभिन्न ठाउँको माटो संकलन गरेका थिए । त्यही माटोलाई पार्कमा स्थापित गरिने छ ।