२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

संविधानअनुसार तलबभत्ता लिने तर संविधानकै विरोध गर्ने ? दाहाल

मध्यान्ह
२०८२ वैशाख २८ गते १७:१७
संविधानअनुसार तलबभत्ता लिने तर संविधानकै विरोध गर्ने ? दाहाल

धरान : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानलाई चुनौती दिएर देशलाई वंशवादतिर फर्काउने प्रयास भइरहेको बताएका छन् ।

धरानमा आइतबार आयोजित किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनमा अध्यक्ष दाहालले राप्रपाका सांसदहरूले यही संविधानअनुसार सदनभित्र बसेर तलबभत्ता र सबै सुविधा लिँदैसंविधानकै विरोध गरेकोमा आलोचना गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र भएको सदनभित्र बसेर यही संविधानअनुसार तलबभत्तासहित सबै सुविधा लिने तर त्यहि संविधानको विरोध गर्ने अधिकार राजशाहीमा थियो त भन्ने प्रश्न उनले गरे ।

अध्यक्ष दाहालले राप्रपाका सांसदलाई नक्कली राजाको कुरा नगर्न भन्दै वास्तविक राजा वीरेन्द्रको वंशनास भएको विषयमा छानबिन गर्ने आँट छ भन्दै राप्रपालाई प्रश्न पनि गरे ।

पूर्वप्रधानमन्त्री पनि रहेका दाहालले धरानका मेयर हर्क साम्पाङ्गलाई आफूसँगै हिँड्न अनुरोध गरे ।

हर्क साम्पाङ्ग उट्पट्याङ कुरा गरिरहेको भन्दै उनले बेलाबेला नकारात्मक कुरा गरे पनि संविधानले दिएको अधिकार प्राप्तिका लागि साथ दिन आग्रह गरे ।

उनले माओवादीलाई कमजोर बनाएर पहिचानको आन्दोलन सफल नहुने समेत बताए । दाहालले माओवादी कमजोर भए पहिचानको आन्दोलन पनि कमजोर हुने उल्लेख गर्दै पहिचानको आन्दोलनका लागि माओवादीले गम्भीर आत्मसमीक्षा गरेर आएको बताए । आफू बालुवाटारमा भए पनि र खुमलटुरमा भए पनि पहिचानका लागि आन्दोलन गरिरहेकाहरूसँग वार्ता र संवाद गरी राखेको दाबी उनले गरे ।

भ्रष्टाचारको मुहान थुन्न शासकीय संरचना फेर्न आवश्यक रहेको उल्लेख गर्दै उनले अहिलेको चुनावी प्रणालीले देशमा भ्रष्टाचारको अन्त्य हुन नसक्ने बताए ।

उनले जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको पनि बताए । संविधान सभामा भिन्न मत राखेर आएकाले अहिलेको निर्वाचन प्रणालीलाई बदल्नका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको दाहालको भनाइ छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर