२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बालेनसँग सशंकित ओली

ADV
दिवाकर अधिकारी
२०८१ जेठ २३ गते ०६:५०
बालेनसँग सशंकित ओली

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)  र नेकपा एमालेका नेता÷कार्यकर्ता सामाजिक सञ्जालमा वादप्रतिवादमा उत्रिएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै बालेनका सन्दर्भमा सार्वजनिक टिप्पणी गरेपछि नेता÷कार्यकर्ता सामाजिक सञ्जालमा सक्रिय भएका हुन् । 

मेयर बालेनले सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी इस्टेट प्रकरणमा जोडे । ओलीको नामै किटेर १० हजार करोडको काण्ड लुकाउनका लागि जनतालाई नझुक्याउन चेतावनी दिए ।

दिउँसो एमाले अध्यक्ष ओलीले गिरीबन्धु टी इस्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेनसँगै  सोध्न आग्रह गरे । ‘गिरीबन्धु टी इस्टेटबारे प्रश्न उठिरहेको छ नि’ भन्ने प्रश्नमा उनले जवाफ फर्काए, ‘बालेनलाई सोध्नु ।’

मंगलबार अध्यक्ष ओलीले पार्टीका सचिव योगेश भट्टराईलाई प्रतिनिधि सभामा बालेनका सन्दर्भमा विषय राख्न लगाए । प्रतिनिधि सभाको विशेष समयमा पार्टीको तर्फबाट बोल्दै भट्टराईले मेयर शाहको चार्को आलोचना गरे । 

मेयर जितेर आएपछि आफ्नो पार्टीका अध्यक्ष ओलीले तबला उपहार दिएको स्मरण गर्दै उनले भने, ‘तबलाको अर्थ करुणा, प्रेम, सद्भाव हो, तर काठमाडौंका प्रमुखले संमयता गुमाउँदै जानु भएको छ ।’ 

२०५४ मा एमालेले काठमाडौं महानगरको चुनाव जितेपछि सभ्य सहर बनाउने अभियान थालेको भन्दै उनले भने, ‘पछिल्लो पटक विद्यासुन्दर शाक्यजी आएपछि रानीपोखरी बनायौं, कमलपोखरी बनायौं, दरबार स्क्वायर पुनर्निर्माण गर्‍यौं ।’ 

अर्थात, काठमाडौंको विकासका लागि एमालेले भूमिका खेलेको दाबी गर्दै भट्टराईले बालेनलाई आफूहरुसँग सहकार्य गर्न आह्वान नै गरे । 

‘म भन्न चाहन्छु बालेनजीलाई, काठमाडौंलाई अझै सुन्दर बनाउन तपाईंको योजना के छ ? पैसा कति चाहियो ? सरकार दिन तयार छ । हामी अर्थमन्त्रीजीलाई भनौंला, प्रधानमन्त्रीजीलाई भनौंला । आउनुन्, सँगसँगै काम गरौं’ एमाले सचिव भट्टराईले भने । 

नेताहरुका अनुसार नेकपा एमालेले मेयर बालेन शाहलाई सके फकाउने नसके सामना गरेरै जाने नीति लिएको छ । सोही अनुसार अध्यक्ष ओलीले सार्वजनिक अभिव्यक्ति दिएका हुन् भने सोही अनुसार सचिव भट्टराईलाई प्रतिनिधि सभाको बैठकमा बोल्न लगाएका हुन् । यथास्थितिमा रहे आगामी चुनावमा काठमाडौंमा आफूहरुको उपस्थिति थप कमजोर हुने त्रासमा एमाले नेता÷कार्यकर्ताहरु रहेका छन् । 

नेताहरुका अनुसार काठमाडौंको मेयरका रूपमा बालेनको दुई वर्षको काम हेरेपछि ओलीलाई लागेको छ– उनलाई सम्झाउने कोही भएनन् । त्यसैले अराजकतातर्फ उन्मुख भए ।

बालेन स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरको मेयर निर्वाचित भएका हुन्, बाँकी जनप्रतिनिधि दलगत रूपमै आएका छन् । एमालेबाट उपमेयर सुनिता डंगोल छिन् भने १२ जना वडाध्यक्ष छन् । नेपाली कांग्रेसका १८ वडाध्यक्ष छन् । कार्यपालिका र नगर सभा दुवैमा कांग्रेसको बहुमत छ ।

तर मेयरसँग कार्यकारी अधिकार हुने भएकाले महानगरको कामकारबाहीमा बालेन हाबी छन् । बहुमत विपक्षमा हुँदा पनि मेयरले आफ्नो अनुकूल निर्णय गर्ने गरेका छन् । एमालेबाट निर्वाचित उपमेयर सुनिता डंगोल समेत मौन बस्ने गरेको एमाले नेताहरूको गुनासो छ ।

एमाले नेताहरूले उपमेयर र वडाध्यक्षहरूलाई बोलाएर बालेनबारे किन मौन भनेर प्रश्न गरेका थिए । त्यसको प्रभाव १८ जेठमा बसेको नगर कार्यपालिका बैठकमा देखियो ।

काठमाडौं २२ का वडाध्यक्ष चिनिकाजी महर्जनले न्यूरोड क्षेत्रको फुटपाथ विस्तार र आफ्नो वडाबाट केही फाइल लगेको विषयलाई लिएर मेयरको कार्यशैलीमाथि प्रश्न उठाए । मेयर र वडाध्यक्षबीच केहीबेर नोकझोंक समेत भएको थियो । 

महानगरको कार्यपालिका सदस्यहरुले नेतृत्वबाटै प्रश्न आओस् भन्ने चाहेपछि अ‍ोली आफैँले बालेनमाथि प्रश्न गरेको नेताहरु बताउँछन् । 

१९ जेठमा काठमाडौंमा बसेको राष्ट्रिय युवा संघको कार्यक्रमा ओलीले बालेनको नाम नलिइ भनेका थिए, ‘म छक्क पर्छु, कतिसारो कमजोर प्रवृत्ति भएको होला ? कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँकिदिन्छ, यो गलत गर्‍यौ भनेर कसैले भन्न सक्दैन ।’ 

बालेनप्रति लक्षित गर्दै ओलीले अराकजतावादीको बोलवाला हुन थालेको भन्दै अगाडि भनेका थिए, ‘हामीले सम्झाउनुपर्छ । किनकि यो हामीले बाँचिरहेको समाज हो, हामीले बाँच्नुपर्ने समाज हो ।’

ओलीले आफैँ प्रश्न गर्न थालेपछि एमालेका स्थानीय नेता÷कार्यकर्ता समेत सोही रुपमा अगाडि बढेको नेताहरु बताउँछन् । आइतबार एमालेको स्थानीय कमिटीले वालेनको विरोध गर्दै न्युरोड केन्द्रित प्रदर्शन समेत गरेको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise