काठमाडौँ : संघीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिहरूको बैठक बस्ने भएको छ । संसद् सचिवालयका अनुसार आज सिंहदरबारमा अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुनेछ । उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) र नेपाल उद्योग परिसंघ (सिएनआई)बीच छलफल हुनेछ ।
यस्तै, सार्वजनिक लेखा समितिको बैठक बिहान ११बजे बस्दै छ । उक्त बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ ।यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे र संभीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दै छ ।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्व बजेटका सम्बन्धमा छलफल हुने कार्यसूची छ । अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिबीच छलफल हुनेछ ।
यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद् व्यवस्थापन (विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुँदैछ । बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्य योजना सम्बन्धमा र विविध विषयमा छलफल हुने कार्यसूची छ ।