२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

टी-२० ग्लोबल छनोट पार गर्ने क्षमता हामीसँग छ : प्रशिक्षक कटुवाल

G Motors
मध्यान्ह
२०८२ जेठ ८ गते ११:५२
टी-२० ग्लोबल छनोट पार गर्ने क्षमता हामीसँग छ : प्रशिक्षक कटुवाल

काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले आईसीसी महिला टी-२० ग्लोबल छनोटबाट नेपालले सफलता पाउनसक्ने विश्वास व्यक्त गरेका छन् । 

थाइल्याण्डमा सम्पन्न आईसीसी महिला टी-२० विश्वकप एशिया छनोटको शीर्ष दुई स्थानमा रहँदै नेपाली टोलीले सोमबार विश्वकपको अन्तिम छनोटमा स्थान बनाएको थियो । बुधबार साँझ स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीका प्रशिक्षक कटुवालले ग्लोबल छनोटमा शीर्ष चार टोली बन्दै विश्वकपमा यात्रा गर्न आफ्नो टोली सक्षम रहेको प्रतिक्रिया दिए । ग्लोबल छनोटमा पूर्ण सदस्य राष्ट्र बंगलादेश र स्कटल्याण्डसहित एशिया, युरोप र अफ्रिकाबाट समान दुई, इस्ट एशिया र अमेरिकाबाट समान एक गरी कुल १० राष्ट्रले विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । यहाँबाट चार राष्ट्रले विश्वकपको यात्रा तय गर्नेछन् । 

यद्यपि हालसम्म उक्त छनोटको मिति भने तोकिएको छैन । नेपालका प्रशिक्षक कटुवालले उक्त छनोट प्रतियोगिताका लागि पर्याप्त समय रहेको उल्लेख गर्दै राम्रो तयारी गर्दै खेल्ने हो भने नेपाली टोलीमा क्षमता रहेको धारणा राखे । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले विश्वकप छनोटको तयारी गर्न निश्चित योजना ल्याउन भनिसकेको प्रशिक्षक कटुवालले उल्लेख गरे ।

बलिया राष्ट्रसँग नियमित श्रृंखला खेल्दै राम्रो योजना बनाएर तयारी गर्नसके विश्वकपको अन्तिम छनोट आफ्नो टोलीले पार गर्ने उनको विश्वास छ । पछिल्लो समय लगातार अनुभवी टोलीसँग अभ्यास खेलिरहँदा तयारी पनि राम्रो भएकाले यो सफलता पाएको उनी बताउँछन् । प्रशिक्षक कटुवालले नेपाली टोलीमा स-साना गरी धेरै परिवर्तन आएको र खेलाडी पनि पूर्णरूपमा व्यावसायिक खेलाडी बनिरहेकाले यो टोलीबाट धेरै आशा गर्न सकिने उल्लेख गरे ।

नेपालकी कप्तान इन्दु बर्माले पनि थाइल्याण्डको छनोटकै लागि भैरहवा र दिल्लीको क्याम्पले धेरै मद्दत मिलेको बताइन् । झन्डै दुई दशकदेखि नेपाली महिला क्रिकेट टोली ठूलो सफलताको खोजीमा रहेको उल्लेख गर्दै उनले यसपल्ट सफलता मिलेको बताइन् । पूर्वकप्तान रुविना क्षेत्रीले लगातार क्रिकेट समर्थकको आलोचनाले पनि अझै राम्रो गर्नुपर्छ भन्ने आफूहरूलाई थप प्रोत्साहन मिलेको धारणा राखिन् । नेपाली टोलीलाई क्यानका सचिव पारस खड्का र प्रवक्ता छुम्बी लामाले स्वागत गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise