२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जनतालाई आशा जगाउने बाटो

ADV
२०८१ असार २५ गते ०६:५५
जनतालाई आशा जगाउने बाटो

देशभर बाढी, पहिरो र डुवानबाट नागरिक पीडित भइरहँदा शीर्ष नेतृत्वको ध्यान भने फेरि पनि सत्ता परिवर्तनमा केन्द्रीत छ । संघीय सरकार परिवर्तन गर्ने नेपाली कांग्रेस र नेकपा एमालेको निर्णयले सिंगो राजनीतिक वृत्त तरंगित छ । नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री हुने सहमतिको असर सातै प्रदेशमा देखिएको छ । गण्डकी, कोशी र कर्णाली बाहेक अरु सरकारको नेतृत्व परिवर्तन हुँदैछ । मुख्यमन्त्री नफेरिने प्रदेशमा पनि सत्ता सहयात्री र मन्त्रीहरु फेरिनेछ । प्रधानमन्त्री फेरिएपछि संभवतः प्रदेश प्रमुखदेखि राजदूतसम्म फेरिनेछन् । तर अहिलेसम्म नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री छन् । त्यसैले प्रचण्डलाई हटाउने हतारोमा कांग्रेस–एमालेका नेताहरु देखिन्छन् । प्रचण्डले विश्वासको मत लिने निर्णय लिएका छन् । 

प्रचण्डले संसद्को सामना गर्ने निर्णय लिएकाले संघसहित प्रदेशहरुको सरकार फेरिन केही समय लाग्न सक्छ । तर फेरिने निश्चित छ । यसले नागरिकको एजेण्डा ओझेलमा पर्ने पक्का छ । मध्यवर्षाको समयमा सत्ता फेरिने र नागरिकको जीवनरक्षा प्राथमिकतामा नपर्नुको कारण जनादेश बमोजिम सरकार नबन्नु हो । यदि जनादेशको सम्मान हुने थियो भने यतिबेला कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री हुने थिए । संसद्का साना दलहरुको समर्थन लिएर सवैभन्दा ठूलो दलका सभापतिको हैसियतमा देउवाले मुलुक चलाइरहेका हुने थिए । यदि देउवाले बहुमत जुटाउन नसके दोस्रो ठूलो दलको हैसियतमा ओलीले सरकार चलाइरहेका हुने थिए । 

तर जनादेशको सम्मान नगरेर संसदीय चलखेल बमोजिम सरकार बन्न थाल्यो । निकै सानो आकारको माओवादीका अध्यक्ष प्रचण्ड मुलुकको प्रधानमन्त्री बने । सानो दलले प्रधानमन्त्री बनाउँदा सरकार चलाउन सजिलो भएन । लगातार सत्ता सहयात्री फेरिरहने, मन्त्रिपरिषद् पुनर्गठन भइरहने र मुख्यमन्त्रीहरु फेरिने भइरह्यो । प्रचण्डले चौथोपटक विश्वासको मत लिइसके । १८औंपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । जनादेश नपाएर पनि देशको नेतृत्व गर्ने प्रचण्डको चाहनाले अरु नियुक्ति र निर्णयहरु पनि प्राकृतिक हुन सकेन । कतिसम्म भने ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा चार सिट रहेको एकीकृत समाजवादीले मुख्यमन्त्री लिएका थिए । एकल बहुमत भन्दा केही सिट मात्रै सानो कांग्रेस प्रतिपक्षमा थियो । यस्ता थुप्रै निर्णय भएका छन्, जुन प्राकृतिक देखिदैन । त्यसैले अब हुने निर्णयलाई जनादेश बमोजिम प्राकृतिक देखिनेगरी गरिनु राम्रो हुन्छ । जनादेश पाएर आएकाहरु मध्ये योग्य व्यक्तिलाई मन्त्री बनाउने र काम गर्न दिने बातावरण सिर्जना गरिनुपर्छ । जसले मुलुक, व्यवस्था र संविधानलाई बलियो बनाउनेछ, अनि जनतामा नयाँ आशा जाग्नेछ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise