फिदिम : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीका कार्यकर्ताले नेताको झोला मात्र बोकेर नहुने बताएका छन् । आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पाँचथरको फालेलुङ आएका कोइरालाले कांग्रेस कार्यकर्ताहरु स्वभिमानी बन्नुपर्ने बताए ।
कोइरालाले भने ‘कार्यकर्ताहरु स्वभीमानी बन्नुपर्छ । आफूलाई आफैले सक्षम नेतृत्वको रुपमा स्थापित गर्नुपर्छ । नेता खुसी पार्न हैन जनतालाई खुसी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ ।’
कांग्रेस फालेलुङ गाँउपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जथाभावी बोल्दै हिँडेको आरोप लगाए ।
‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ,’ प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने ‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिन मिल्दैन ।’ प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोइरालाको भनाइ थियो ।
आइतबार नेकपा एमाले बागमाती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको कब्जामा राख्न निर्देशन दिएका थिए । सोही दिन राजावादीहरुले पनि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । प्रधानमन्त्रीकै कारण देश मुठभेडतर्फ गएको पनि कोइरालाको ठहर थियो ।