-गोरखबहादुर वि.सी.
नेतृत्व प्रदान गर्ने राज नेताहरुको खरेडी परेकै कारण अहिले मुलुकको राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रमा अस्थिरता उत्पन्न भएको छ । विचार, सिद्धान्त र त्यागको राजनीति गर्ने राजनेता भएको भए देशमा सायद सहमति, सहकार्य र मेलमिलाप हुने थियो । तर, विडम्बना हामीले हालसम्म देश निर्माण गर्ने र राष्ट्रलाई सम्बृद्धशाली बनाउने राजनेता नभेटाएकाले छिमेकीहरुको आश र भरासोमा चल्नुपर्ने अवस्था आयो । देखिएका पात्र पनि नाटक मञ्चन गर्ने खालमा मात्रै आए । आज आफ्नै घरमा आफैंले आगो लगाउने र छिमेकीलाई निभाउन गुहार माग्ने राजनीतिक परम्परा विकास भईरहेको छ । यस्तो अवस्थामा हाम्रा मित्र राष्ट्रहरुले पनि आगो निभाउने नाममा आफ्नो उर्दी र हैकम लाद्ने काम गर्ने नै भए । उनीहरु पनि आफ्नो स्वार्थ पूर्तीका लागि आफ्ना योजनाहरु अगाडि सार्ने नै भए । यस्तो अवस्थालाई जनतालाई आफ्नो भावना बुझ्ने, निजि स्वार्थ र गुटको वरिपरि नघुम्ने नेतृत्व चाहिएको छ । तर मुलुकलाई दिशा निर्देशन गर्ने राजनैतिक दल वा नेतृत्व वर्गले देश, समाज र जनताभन्दा पनि सत्ता र भत्तालाई महत्वपूर्ण मानेको देखिन्छ ।
राजनीतिक नेताहरुको चरित्रलाई हेर्दा, यो देशलाई नयाँ गतिमा अगाडि बढाउने होइन् विस्तारै अफगान, रुवाण्डा, लिविया, सिरियाको जस्तै युद्धको हालमा पु¥याउने हुन् कि भन्ने शंका उत्पन्न हुन्छ । उनीहरुका शैली हेर्दा देशका स्रोत र साधन मात्रै बेच्ने हुन कि भन्ने प्रश्न उठ्छ । हिजोको शासन व्यवस्था आम नेपालीको भलो र कल्याण गर्न सक्ने खालको भएन भन्दै जनताले निकै ठूलो त्याग र बलिदान पनि गरे । विभिन्न विभेदमा पारिएका जनसमुदायहरु आफ्नो हकअधिकार सुनिश्चित गर्ने सवालमा बलिदानीपूर्णं आन्दोलनमा सहभागी पनि भए । तर, त्यति परिवर्तनबाट आएको नेतृत्वले तिनै बलिदानीमाथि होली खेल्ने मात्रै काम गरेको छ ।
नेपालको संघिय लोकतान्त्रिक संविधानअनुसार न त राष्ट्रपति चलिन्, न त प्रधानमन्त्री, न त राज्यव्यवस्थाको नीति नियमलाई परिचालन गर्नेहरु नै चले । हाम्रो हावापानी माटोसँग मेल नखाने संरचनाहरु बनाउन राज्यका नेतृत्वकर्ता लागे । नेपालको हावापानी नबुझेका विज्ञ भन्नेहरुले बनाएको संरचनालाई समृद्ध बनाउन नेतृत्व तह लाग्यो । जनताका तात्कालिक आवश्यकतालाई ध्यानमा राखेर सम्बोधन गर्ने काम कहिल्यै भएन । जनताले सडकको समस्या देखाउँदा रेलका कुरा गर्ने, डुबानका समस्या देखाउँदा पानी जहाजका कुरा गर्ने नेतृत्व मात्रै विकास भए । आज तिनै नेतृत्वले बहुसंख्यक जनताको मतलाई समेत कदर गरेका छैनन् । सत्ता र भत्ताको अगाडि पुगेको उक्त नेतृत्वले देशलाई पुनः अस्थिरता तर्फ लैजाने खेलमा आफुँलाई उद्धत बनाएको छ । आज दुई तिहाई मत पाएको नेतृत्वको यो अवस्था देख्दा जनता निकै दुःखीत पनि भएका छन् । जसलाई हामी दुर्भाग्य बाहेक केहि भन्न सक्ने अवस्थामा छैनौं ।
हाम्रो देशको फेरियस्त हेर्दा, भू–राजनीति र सामारिक महत्वले मात्र ठाँउ लिएको छैन । राजनैतिक क्षेत्रमा नै भ्रष्टीकरण, अपराधिकरण र व्यापारिककरण भएकोले यो स्थिति निम्तिएको हो । १० वर्षे जनयुद्ध, १९ दिने आन्दोलन र मधेश आन्दोलन स्थापना गरेको संघीय लोकतान्त्रिक संविधानलाई समेत एउटा कुनाबाट छायाँमा पार्ने काम भईरहेको छ । यसले आन्दोलनबाट प्राप्त उलब्धीलाई समेत सिध्याउने त होइन भन्ने सशंय पैदा गराएको छ । अहिलेको अवस्थालाई हेर्दा, देशका राजनीतिक दलहरुको मूल यात्रा के हो भन्ने स्पष्ट नहुँदा समस्या पैदा भईरहेको जस्तो देखिन्छ । पछिल्लो समस्यालाई केलाउँदा राजनीतिक नेतृत्व अब नयाँ सोंच र नयाँ तरिकाबाट जान उपयुक्त देखिन्छ । नेपालको खास गरि सामरिक सुरक्षाका सवालमा विदेशी शक्तिहरुले ठुलै खेल खेलेका छन् । त्यसमा राष्ट्रप्रमुख र सरकार प्रमुख मात्र होइन् विपक्षी दल एवम् पूर्वशासक प्रशासकलाई समेत अगाडि बढाउन खोजिएको छ । यस्तो अवस्थामा राष्ट्रको हितलाई ध्यानमा राखि अगाडि बढ्नुपर्ने खाँचो छ ।
अहिले तमाम मुद्दामा देश विभाजित छ । एमसीसीलगायतका सम्झौताका विषयमा दलहरु मात्रै नभई सबै क्षेत्र र समुदाय विभाजित भएको छ । राज्यमा निकै महत्वपूर्णं मुद्दाहरु उठिरहेको अवस्थामा कतिपय विषय जटिल पनि बन्दै गईरहेका छन् । यस्तो अवस्थामा साझा मत बनाउन सबै राजनैतिक दल, बौद्धिक जगत, नागरिक समाज, सम्पूर्णं पेशागत समूदायबीच छलफल हुन आवश्यक छ । मुलुकमा राष्ट्रिय राजनैतिक सम्मेलन गर्नुपर्ने आवश्यकता देखिएको छ । जनताको जनादेशलाई समेत वेवास्था गर्नेहरुलाई किनारा लगाउन पनि सम्मेलनको आवश्यकता छ । एउटा राष्ट्रिय एजेण्डामा प्रवेश गरि दिर्घकालिन रुपमा समाधान गर्ने गरि सबै अगाडि बढ्न सके मात्रै देशले सहि बाटो र निकास लिन सक्छ । राजनैतिक नेतृत्वबीच स्वार्थपूर्णं राजनैतिक लाभ हानीको हिसाब किताब मात्रै गर्र्नाले जनता निरासको अवस्थामा छन् । उही विचार उही सिद्धान्त तर किन तोडफोड ? आज प्रश्न उठेको छ, सबै उही भएपछि गुटउपगुटमा विभाजन भएर कसैको महत्वाकांक्षालाई पुरा गर्ने काम किन भईरहेको छ ? यस्तै परिवेश भइरह्यो भने नेपाल सधै असफल राष्ट्र त हुने नै छन् सँगै कुनै दिन द्धन्द र युद्ध तिरसमेत जाने अवस्था हुनसक्छ । त्यसैले अब आम नेपाली जनताको हितमा हुने विकल्प तर्फ वाध्यात्मक रुपमा नेतृत्व तह जानुपर्छ ।
अहिले प्रश्न उठेको छ, वर्तमान राजनैतिक नेतृत्वहरु जनताको नेता हुने कि द्धन्द्ध निम्त्याउने व्यवसायी हुने ? जनताले राजनैतिक नेतृत्वलाई स्पष्ट हुन माग गरेका छन् । यसर्थ यो देशलाई पुनः निर्माण गर्न र विकासको बाटोमा हिडाउन आवश्यक छ । जसका लागि संयुक्त रुपमा देशका सबै पक्षलाई बोलाई राष्ट्रिय राजनैतिक निकासका निम्ति सर्वपक्षीय बहस गराउन आवश्यक छ । यसमा पनि अहिले राजनैतिक दलहरुले नेपाली जनताको बलिदानीलाई परिवर्तनको चाहानालाई आत्मसाथ गर्नुपर्दछ । अन्यथा नदी विनाको माछो राजनीति दलहरु हुनेछन् । समयमै बुद्धि पुर्याउने काम भएन भने समयले कोल्टे फेर्न सक्दछ । अब यसैमा राजनैतिक दलहको यात्रा र गन्तव्य के हो स्पष्ट पार्नु पर्दछ । सत्ता र भत्ताको लडाईँमा नेपाल र नेपालीको भविष्यलाई बिगार्न सकैलाई छुट छैन् । नेतृत्वलाई सहि बाटो पहिचान गर्ने अवसर मिलोस् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies