काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन् । प्रदेश सभाको बुधबारको बैठकबाट उनी पदमुक्त भएकी छिन् ।
श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङले २० वैशाखमा राजीनामा दिएको जानकारी गराएका थिए । गीताले इमेलमार्फत राजीनामा पठाएकी थिइन् ।
पछिल्लो समय बेलायत बस्दै आएकी उनी लगातार १० वटा बैठकमा अनुपस्थित भएपछि संविधान र नियमावलीअनुसार पद रिक्त भएको घोषणा गरिएको हो । उनी समानुपातिक सांसद हुन् ।
लगातार १० वटा बैठकमा अनुपस्थित भएपछि संविधान र नियमावलीअनुसार उनको पद रिक्त भएको घोषणा गरिएको हो ।
जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले मंगलबार सभामुख तुलाराम घर्तीलाई पत्र पठाउँदै गुरुङ लगातार १० बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार पद रिक्त घोषणा गर्न अनुरोध गरेका थिए ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा गुरुङ सबैभन्दा कम उपस्थिति हुने सांसद हुन् । पाँचौं अधिवेशनसम्म भएका ८३ बैठकमध्ये उनी ३४ बैठकमा मात्र उपस्थित भएकी थिइन् । छैंटौं अधिवेशनका १० वटै बैठकमा उनी अनुपस्थित रहिन् । ३ सांसद रहेको जनमतको अब २ सांसद भएका छन् ।
बेलायतबाट आएर समानुपातिक सांसद बनेकी गुरुङ फेरि उतै गएर बसेकी छन् ।