काठमाण्डु : भिजिट भिसा प्रकरणमा मुछिएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै विपक्षी दलहरूले माग गरिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापा भने उनको बचाउ गरेका छन् ।
नेपाली कांग्रेस धरान उपमहानगर सम्मेलनमा बुधबार बोल्दै महामन्त्री थापाले अहिलेकै अवस्थामा गृहमन्त्री लेखकको राजीनामा माग्नु न्यायोचित नहुने जिकिर गरे । ‘अनुसन्धानको दायरामा नपरेका प्रशासनिक वा राजनीतिक नेतृत्वलाई जिम्मेवार ठह¥याउने विषय न त कानुनी हिसाबले उपयुक्त हुन्छ न त न्यायोचित नै हुन्छ’, थापाले भने ।
तर, प्रमाण भेटिए र अनुसन्धानको दायरामा आएपछि भने गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारीहरू जसरी इमानदारिता र कुशलतापूर्वक निर्वाह गर्दै आउनु भएको छ, गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै निर्वाह गरिरहनुभएको छ र अहिले उहाँमाथि उठेका प्रश्नहरूमा पनि वेदाग हुनुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास हो । तर हामीलाई थाहा छ कानुनी राज्यमा कसैको विश्वास वा आग्रहभन्दा माथि तथ्य र प्रमाण हुन्छ ।’
उनले अहिले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो प्रकरणको अनुसन्धान गरिरहेको र गृहमन्त्री यसको दायरामा नआएकाले राजीनमा दिनुनपर्ने बताए ।
'अनुसन्धानका क्रममा नयाँ तथ्य र प्रमाणहरू प्राप्त भए भने अनुसन्धानको दायरमा अन्य जिम्मेवार प्रशासनिक वा राजनीतिक अधिकारीहरू थपिँदै जान्छन्' उनले भने, 'त्यस्तो अवस्था नआउँदा वा नहुँदासम्म अनुसन्धानको दायरमा नपरेका प्रशासनिक वा राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहर्याउने विषय न त कानुनी हिसाबले उपयुक्त हुन्छ न त न्यायोचित नै हुन्छ। हामीले भन्दै आएको कुरा यही नै हो र यो भिजिट भिसा प्रकरणका सन्दर्भमा पनि कुरा यही नै हो।'
मन्त्री लेखक अनुसन्धानको दायरमा आएको अवस्थामा विगतमा आफूहरूले लिएको अडान भिजिट प्रकरणमा पनि उस्तै हुने उनको भनाइ छ। महामन्त्री थापाले भिजिट भिसाको नाममा हुने गरेको ठगी धन्दा र यसको सञ्जाल सधैँका लागि बन्द गर्न कानुनी र प्रशासनिक सुधारमा जोड दिए।