काठमाडौं : बुधबारदेखि शुरु हुने दुई साता लामो निषेधाज्ञाका क्रममा वैदशिक रोजगारको काम आंशिकरुपमा सञ्चालन हुने भएको छ । निषेधाज्ञाको अवधिमा वैदेशिक रोजगारमा जाने कामदारले विदेश जाने भिसा र टिकट देखाएमा त्रिभुवन विमानस्थलसम्म सहजरुपमा जान पाउने छन् । श्रम स्वीकृति दिने वैदेशिक रोजगार विभागले आलोपालो प्रणालीका आधारमा कर्मचारी खटाएर भएपनि सेवा नियमित गर्ने भएको छ ।
विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले विभाग र विभाग माताहतका कार्यालयबाट श्रम स्वीकृतिका काम सुचारु रहने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कार्यालय खुला राखी सकेसम्म सेवा प्रवाह गर्ने बताएको छ । संघका महासचिव सुजितकुमार श्रेष्ठले वैदेशिक रोजगारको प्रक्रियामा रहेका व्यक्तिहरुलाई विदेश पठाउन संघले पहल गर्ने मध्यान्हलाई वबताए ।
कन्सुलर सेवा विभागले वैदेशिक रोजगार प्रयोजनको लागि गर्नुपर्ने प्रमाणीकरण कार्य सम्बन्धित रोजगार व्यवसायीमार्फत आएमा गरिदिने बताएको छ । गत मंगलबारबाट अत्यावश्यक सेवा मात्र प्रवाह गरेका कार्यालयले वैदेशिक रोजगारका हकमा व्यवसायीमार्फत काजगात प्रमाणीकरण गर्न सकिने बताएको छ ।
विभागले एक सूचना जारी गर्दै सेवाग्राहीले इमेल वा फोनबाट अग्रिम सम्पर्क गरेर आएमा मात्र अत्यावश्यक कन्सुलर सेवाहरू प्रदान गरिने बताएको छ । वैदेशिक रोजगार व्यवसायीहरुले परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको कन्सुलर शाखाबाट वैदेशिक रोजगारीमा जाने कामदारको चालचलन सम्बन्धी प्रहरी रिपोर्टलगायत अन्य सरकारी कागजातहरु प्रमाणीकरण गराउँदै आएका छन् ।
वैदेशिक रोजगार क्षेत्रको अर्को निकाय वैदेशिक रोजगार बोर्डले अनलाइनमार्फत निवेदन लिई आर्थिक सहायता दिने बताएको छ । बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुको शव ढुवानी यथावतरुपमा संचालन हुने बताएको छ । यस बीचमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर अभिमुखीकरण तालिम सञ्चालन गरिने बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies