रौतहट : रौतहटको माधव नारायण नगरपालिका–५ मिठुअवामा अवस्थित श्री राधाकृष्ण माध्यमिक विद्यालयको खाली जग्गामा खेलमैदान स्तरोन्नति कार्यक्रम अन्तर्गत कम्पाउन्ड वाल निर्माण तथा संरक्षण कार्यको शिलान्यास गरिएको छ ।
खेलकुद तथा सामाजिक विकास मन्त्रालय, मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रमको शिलान्यास नेपाली कांग्रेस मधेश प्रदेशका प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले गरेका हुन् । उनले आगामी दिनमा सो क्षेत्रलाई अझ व्यवस्थित र आकर्षक बनाउने योजना रहेको जानकारी दिए ।
सामाजिक विकास इकाइमार्फत रु २५ लाख बजेट विनियोजन गरिएको उपभोक्ता समिति अध्यक्ष दिपेन्द्र कुमार पसवानले जानकारी दिए । अध्यक्ष पसवानले विभिन्न योजनामार्फत क्षेत्रको ऐतिहासिक विकास भइरहेको बताए ।
यस अभियानले लामो समयदेखि उपयोगविहीन अवस्थामा रहेको विद्यालयको खाली जग्गालाई संरक्षित गर्दै खेलकुदको प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको छ ।