सुर्खेत : पाहुना टोली सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै कर्णाली प्रदेशले टि.बी. शाह यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा पहिलो जित निकालेको छ । कर्णालीका कप्तान विपिनप्रसाद शर्माले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि सुदूरपश्चिम सस्तैमा समेटिएको थियो ।
५० ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट भयो । कर्णालीका कप्तान शर्माले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शनलाई जारी राखे । ४ ओभर बलिङ गरेका विपिनले २ ओभर मेडन राख्दै २ रन खर्चिएर ५ विकेट लिन सफल भए । १०औं ओभरमा बलिङ गर्न आएका उनले १ रन मात्रै खर्चिए । १२औं ओभरमा १ रन दिएर १ विकेट लिएका उनले १४औं ओभरमा मेडनसहित १ विकेट लिए भने १६औं ओभरमा मेडनसहित ३ विकेट लिए ।
सुदूरपश्चिमका ओपनर विक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका अविरल बिकले ९, आहन थलालले ५ र हिमाल दुयालले २ तथा सचिन भट्टले १ रन बनाए । सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो । कर्णालीका कप्तान विपिनले ५ विकेट लिँदा विजय बोहराले ३ तथा नवीन न्यौपानेले २ विकेट हात पारे ।
जवाफी व्याटिङ थालेको कर्णालीले १८.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाए भने नमनसिंह थापा र भूपेन्द्रजंग शाहीले नटआउट समान ९ रन बनाए । नवीन न्यौपानेले ७ रन बनाउँदा ओपनर कस्तुप खड्काले ४ रन बनाए भने कैलाश खड्का र रोशन शाहीले समान १ रन बनाए ।
यो सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो हार हो । यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग ७ विकेटले पराजित भएको थियो ।