सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार रातको समयमा उज्ज्यालो बन्न थालेको छ । विगतका वर्षहरूमा साँझ परेपछि अन्धकार हुने बजार अहिले हाल सोलार बत्तीले उज्यालो भएको हो ।
नगरपालिकाले वातावरणमैत्री, ऊर्जा–दक्ष र सुरक्षित सहर निर्माण गर्ने अभियान अन्तर्गत बजार क्षेत्रमा अत्याधुनिक सोलार बत्ती जडान गरेपछि बजार उज्जयाले भएको हो ।
नगरपालिकाले ४ पुसमा मोरङको बुढीगंगास्थित राजन कन्ट्रक्सन कम्पनीसँग सम्झौता गरेर काम सुरु गरेको थियो । सम्झौता अनुसार करिब ९५ लाख ७६ हजार रुपैयाँको लागतमा वीरेन्द्रनगरको गाँग्रेतालदेखि बसपार्कसम्म १४३ वटा सोलार बत्तीहरू जडान गर्ने जिम्मा कम्पनीलाई दिइएको थियो । तर सम्झौतामा काम सम्पन्न गर्ने म्याद आगामी १५ असारसम्म तोकिएको भए पनि कम्पनीले निर्धारित समयभन्दा अगावै काम सम्पन्न गरेको छ ।
यद्यपि अनुगमन समितिले अनुगमन गर्न बाँकी रहेकाले कम्पनीलाई रकम भुक्तानी दिन ढिलाइ गरिएको छ । प्राविधिक परीक्षण, निरीक्षण र कार्यसम्पादनको मूल्यांकनपछि मात्रै भुक्तानी प्रक्रिया अघि बढाइने नगरपालिकाका इन्जिनियर इश्वरी ढकालले बताए । उनका अनुसार सडक किनारामा जडान गरिएका सोलार बत्तीहरू पूर्ण रूपमा स्वचालित प्रणालीमा आधारित छन् । ‘यी बत्तीहरू वातावरणमा आधारित सेन्सर प्रविधिबाट सुसज्जित छन्’ इन्जिनियर ढकालले भने, ‘जसले गर्दा राति अँध्यारो भए लगत्तै आफै बल्ने र बिहान उज्यालो भएपछि आफै निभ्ने गर्छन् ।’ उनले थपे, ‘बत्तीहरू आधुनिक प्रविधिमा आधारित भएकाले नियमित मर्मत सम्भारको आवश्यकता पनि न्यून हुन्छ ।’
उनले सोलार प्रणालीमा आधारित भएकाले विद्युत् खपत पनि नहुने र यसले दीर्घकालीन रूपमा लागत घटाउने बताए । सोलार बत्तीको जडानपछि वीरेन्द्रनगरका स्थानीय बासिन्दा र व्यवसायीहरू पनि निकै खुसी देखिन्छन् । अघिल्लो वर्षसम्म साँझ पर्नासाथ अँध्यारो हुने बजार क्षेत्रमा हिँडडुल गर्न कठिन हुने गरेको स्थानीयको गुनासो थियो । तर अहिले भने त्यही ठाउँमा रातको समयमा सहज रूपमा हिँड्न सकिने अवस्था आएको छ ।
वीरेन्द्रनगर–१२ बस्ने जमुना थापाले सोलार बत्ती राखिएपछि महिलाहरूलाई रातको समयमा हिँडडुल गर्न सहज भएको बताइन् । उनले यहाँ चोरीका घटना धेरै हुने भएकाले सिसी क्यामेरा राखिनु पर्ने बताइन् ।
बत्ती जडानले ट्राफिक व्यवस्थापनमा पनि सहजता ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भनाइ छ । बत्तीको उज्यालोले दुर्घटना न्यून हुने, पैदल यात्रुहरूको सुरक्षामा सुधार आउने र बजार क्षेत्रको निगरानीमा समेत सहयोग पुग्ने गरेको प्रहरीको भनाइ छ । सोलार बत्ती जडान गरिएको क्षेत्रमा अब सिसी क्यामेरा जडान गर्ने, सडकको मर्मत सम्भार गर्ने र सार्वजनिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढाउने योजना रहेको नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले बताइन् । उनले रातिको समयमा पनि राजमार्ग उज्यालो देखियोस् भनेर बत्ती जडान गरेको जानकारी दिइन् ।
५ हजार बल्ब बाँडिँदै
नगरपालिकाले ‘उज्यालो सहर’ कार्यक्रम अन्तरगत यहाँका १२ वटा वडालाई करिब ५ हजार बल्ब दिने योजना बनाएको छ । नगरप्रमुख ढकालले वडा नम्बर १ देखि वडा नम्बर १२ का विभिन्न चोकहरूमा उज्यालो बनाउनलाई ५ हजार बल्ब दिने योजना बनाएको जानकारी दिइन् । ‘हामीले उज्यालो कार्यक्रम अन्तर्गत १ देखि १२ वडाका विभिन्न चोकहरूमा उज्याले होस् भनेर विद्युत् प्राधिकरणसँग सम्झौता गरेर ५ हजार बत्ती दिने तयारी गरेका छौ,’ उनले मध्यान्हसँग भनिन् ।
वीरेन्द्रनगर बजारमा सोलार बत्तीको उज्यालोले नगरबासीको जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले पनि नगरपालिकाले बत्ती दिने योजना बनाएको हो । प्रविधिले नगरपालिकालाई दीर्घकालीन लाभ दिने विश्वास नगरपालिकाको छ । यस्तै मंगलगढी चोकदेखि काँक्रेविहार जोड्ने सडकमा पनि बत्ती जडानको लागि नगरपालिकाले टेण्डर आह्वान गरेको नगरप्रमुख ढकालले बताइन् ।
यस्तै नगरपालिकाले करिब ३०० सिसिटिभी क्यामेरा समेत जोड्ने तयारी थालेको छ । नगरप्रमुख ढकालले उपत्यकाका विभिन्न वडाहरूको चोकहरूमा सुरक्षालाई ध्यानमा राखेर करिब ३०० क्यामेरा जडान गर्न लागेको जानकारी दिइन् । ‘उपत्यकाका विभिन्न चोकहरूमा चोरी लगायतका घटनाहरू बढ्दे गएका छन् । यसलाई समाधान गर्न हामीले यसै वर्ष नयाँ ३०० क्यामेरा जडान गर्ने गरी अगाडि बढेका छौ,’ उनले भनिन्, ‘पहिले बिग्रेकालाई पनि अब नगरपालिकाले छिट्टै मर्मत गर्छ ।’ उनले नगरपालिकाले आवश्यक रकम छुट्टाएर नेपाल टेलिकमसँग समन्वय गरी नयाँ क्यामेरा जडान गर्ने र पुरानोलाई मर्मत गर्ने बताइन् ।