२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई दुई थान उद्धार वाहन सहयोग

ADV
मध्यान्ह
२०८१ असार २६ गते १२:४४
नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई दुई थान उद्धार वाहन सहयोग

काठमाडौं : नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई दुई थान उद्धार वाहन उपलब्ध गराएको छ । मंगलबार एक विशेष कार्यक्रमका बीच काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रममा दुई वटा वाहनहरू हस्तान्तरण गरिएको हो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र नायव प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्तरूपमा गाडीको साँचो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरे ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न किसिमका अभियानहरू सञ्चालन गर्दै आएकोमा मानव सेवामा उत्कृष्ट काम गरेको उक्त आश्रमलाई सहयोग उपलब्ध गराएको हो । साँचो हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष पौड्यालले मानव सेवा आश्रमको कार्य सराहनीय रहेको प्रतिक्रिया दिए । उनले यस्तो संस्थालाई नबिल बैंकले सघाउन पाउँदा खुसी लागेको बताए । अध्यक्ष पौड्यालले राज्यसँगै नागरिक र संस्थाहरूको पनि उत्तिकै उत्तरदायित्व रहेको बताए ।

बैंकका सीईओ ढुंगानाले नबिल बैंक सधैं मानव सेवाका कार्यहरूमा तयार रहेको बताए । उनले मानव सेवा आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व भएको र भविष्यमा पनि यस्ता कार्यहरूमा साझेदारी गर्न नबिल बैंक इच्छुक रहेको बताए । नायव प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मानव सेवा आश्रमले बेसहारा बनेका मानिसहरूलाई खाना, सुरक्षा, र स्वास्थ्य जस्ता न्यूनतम मानव अधिकार सुनिश्चित गर्ने अभियानमा नबिल बैंक साझेदार हुन पाउँदा खुसी लागेको बताए ।

मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले उद्धार वाहनको अभावमा सडक आश्रित व्यक्तिहरूको उद्धार गर्न कठिन भएको अनुभव सुनाए । नबिल बैंकबाट प्राप्त गाडीहरूले सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने उनले बताए । “सडक आश्रित व्यक्तिहरूको उद्धार तथा उपचारका लागि ट्याक्सीलगायतका सवारी साधनले आनाकानी गर्दा समस्या भइरहेको थियो । अब यी गाडी प्राप्त भएपछि सेवा सहज र शीघ्र बनाउन सकिने विश्वास छ । यस पुण्य कार्यका लागि नबिल बैंकप्रति हामी आभारी छौं,“ उनले भने ।

मानव सेवा आश्रमलाई विभिन्न तवरबाट सहयोग पुर्‍याउँदै आएकी गायिका आनी छोइङ डोल्माले लक्षित मानिसहरूलाई सवारी साधनको अभावमा आश्रममा ल्याउन र अस्पतालमा लैजान कठिनाइ भइरहेको बताइन् । उनले नबिल बैंकबाट प्राप्त सवारी साधनले ती व्यक्तिहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताइन् ।

२०६९ सालदेखि सञ्चालनमा आएको मानव सेवा आश्रमले सातै प्रदेशमा सेवा केन्द्र विस्तार गरी ७ हजार जनाभन्दा बढीलाई आश्रय दिएको छ । सडक पेटी तथा सार्वजनिक स्थलमा बेवारिसे जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, उपचार र पालनपोषणका कार्यहरू दाताहरूको सहयोगमा गर्दै आएको आश्रमलाई नबिल बैंकको सहयोगले सेवाको गुणस्तर र गति बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अध्यक्ष अधिकारीले बताए ।

मंगलबार नबिल बैंकका पदाधिकारीहरूले आश्रममा आश्रित लाभग्राहीहरूलाई खाना समेत वितरण गरे । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष अतिआवश्यक मानवीय सहायतालाई प्राथमिकतामा राख्ने गरेको छ । मानिसको जीवन बचाउने र मर्यादित जीवनको सुनिश्चितता गर्ने कार्य केवल सहयोग मात्र नभएर सन्देश पनि हुने भन्दै अतिआवश्यक क्षेत्रमा सधैं हातेमालो गर्ने गरिएको बैंकले बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise