काठमाडौं : गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीसम्बन्धी विधेयक ड्राफ्ट भइसकेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै विधेयक आवश्यक हुने बताए । गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको भावनाअनुसार राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको नागिरकता दिइने बताए ।
विभिन्न मन्त्रालयहरुमा राय, परामर्शहरुका लागि पनि विधेकय गइसकेको र सरकारले चाँडै मन्त्रीपरिषद्को सहमतिका साथ सदनमा लैजाने बताए । उनले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो टुंग्याउन आग्रह गरे । नागरिकता विधेयक टुंगिएसँगै विभिन्न पीडामा रहेका नागरिकहरुको समस्या समाधान हुने बताए ।
गृहमन्त्री लेखकले अध्यागमन सम्बन्धी ऐनलाई संशोधन गरी नयाँ ऐन बनाउने गरी सरकार अघि बढिसकेको बताए । नेपाली आमाबाट जन्म भइ नेपालमा नै स्थायी बसोवास गरेको बाबुको ठेगाना नभएको वा बेपत्ता भएको अथवा सहयोग नगरेको मानिसलाई पनि जिल्लाबाटै नागरिकता दिने व्यवस्था गरिने बताए ।