काठमाडौं : सामाजिक रूपान्तरण र सचेतना अभिवृद्धिका उद्देश्यले स्थापना गरिएको सामाजिक जागरण अभियान नेपालको पहिलो बैठक शनिबार काठमाडौंमा सम्पन्न भएको छ । बैठक अभियानका अध्यक्ष डा. राजन केसीको अध्यक्षतामा बसेको थियो ।
बैठकमा अध्यक्ष डा. केसीले नेपालको समग्र विकासमा राजनीतिक दलहरूप्रति बढ्दो अविश्वास र सामाजिक असन्तुलनको अवस्थामा स्वतन्त्र सामाजिक संस्थामार्फत राष्ट्र निर्माणको जग मजबुत बनाउने उद्देश्यले अभियानको स्थापना गरिएको जानकारी दिए । उनका अनुसार नेपाली समाज वर्गीय, जातीय र भौगोलिक विविधताबीच एकताको सूत्रमा बाँधिन नसक्दा राष्ट्रिय प्रगतिमा अवरोध आइरहेको छ । “राजनीतिक दलहरूले समाजको स्वाभिमानमाथि बारम्बार ठेस पुर्याएका छन्,” उनले भने, “अब समाजकै भित्री चेतनालाई जगाउँदै सामाजिक लोकतन्त्रको अभ्यास आवश्यक भएको छ ।”
बैठकमा पूर्वमन्त्री भीमबहादुर कठायत, पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्री, नवराज सुवेदीलगायतले सामाजिक जागरण अभियानले देशको राजनीतिक अन्योल र सामाजिक असन्तुलनको विकल्प प्रस्तुत गर्ने विश्वास व्यक्त गर्दै अभियानलाई शुभकामना दिएका थिए ।
बैठकले अभियानको सांगठनिक संरचना बलियो बनाउँदै विभिन्न समिति गठन गर्नुका साथै सातै प्रदेशमा संयोजक र कार्यदल तोकेको छ । अभियानका अवधारणा परिमार्जन समितिको संयोजक डा. राजन केसी रहेका छन् भने सदस्यमा लेखनाथ ढकाल, ठाकुर पोख्रेल, टेकबहादुर बिक, गंगा पन्थी, आरके ढकाल, नविन केसी, गणेश लोहार र मञ्जु तामाङ छन् ।
सचिवालयको संयोजन टेकबहादुर बिकले गर्नेछन् भने आरके ढकाल र ठाकुर पोख्रेल सदस्यको रूपमा रहने छन् । आर्थिक समितिको संयोजक ठाकुर पोख्रेललाई तोकिएको छ भने सदस्यमा आरके ढकाल, कृष्णहरि कोइराला र सफलत बोगटी रहेका छन् ।
सूचना तथा सञ्चार कार्यदलको संयोजक डा. अमृत भुसाल रहेका छन् भने सदस्यहरूमा भरत केसी, सफलत बोगटी र आव्हान श्रेष्ठ छन् । यस्तै, सातै प्रदेशमा अभियान सञ्जाल विस्तार गर्न विभिन्न व्यक्ति संयोजकका रूपमा तोकिएको छ ।
कोशी प्रदेशमा लेखनाथ ढकाल र राजेन्द्र रुम्बा संयोजक छन् । मधेश प्रदेशमा काजीप्रसाद गौतम र जितेन्द्र कुमार मिश्रले संयोजनको जिम्मेवारी पाएका छन् । बागमती प्रदेशमा ठाकुर पोख्रेल, कृष्णहरि कोइराला, आव्हान श्रेष्ठ, मञ्जु तामाङ, सफलत बोगटी, पुरुषोत्तम गजुरेल, मधुसुधन पुडासैनी, सुरेश अधिकारी, तेजेन्द्र प्रसाई, डा. गिरी पन्थी र कृष्णकुमार खनाललाई जिम्मेवारी दिइएको छ ।
गण्डकी प्रदेशको संयोजनमा डा. राजन केसी, आरके ढकाल, दिनेश सापकोटा र ज्ञानेन्द्र कार्की छन् । लुम्बिनी प्रदेशमा रोमलाल गिरी, डा. अमृत भुसाल, विष्णु पन्थी, रमेश भुसाल, नविन केसी, शंकर बन्जाडे र सुसिल भट्टराईले संयोजन गर्ने छन् । कर्णाली प्रदेशमा टेकबहादुर विश्वकर्मा, प्रकाश रोकाया, भरत केसी, बलिराज शाही, कृष्ण तिरुवा र सबिर बिकलाई जिम्मेवारी दिइएको छ । सुदूरपश्चिम प्रदेशमा गणेश लोहार र लक्ष्मीदत्त भट्ट संयोजक रहेका छन् ।
नेपाली समाजमा देखिएको अन्याय, असमानता, वर्गीय अन्तरविरोध र असन्तुष्टि समाधान गर्दै सचेत र न्याययुक्त समाज निर्माण गर्ने लक्ष्यसहित अभियान अगाडि बढाइएको हो । अभियानले आगामी दिनमा गाउँ, टोल, बस्ती र जातीय समाजभित्र समेत पुगेर सामाजिक चेतना फैलाउने र सामाजिक लोकतन्त्रको अभ्यासलाई संस्थागत गर्ने उद्देश्य राखेको छ ।