काठमाडौं : अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय गरेको छ । यस निर्णयसँगै करिब ७ हजार नेपाली नागरिकलाई अब अमेरिका छाड्नुपर्ने अवस्था आएको छ ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवाको आधिकारिक वेबसाइटमा प्रकाशित सूचना अनुसार, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा हालको अवस्थाको मूल्यांकन र सरोकारवाला निकायहरूसँगको परामर्शपछि यो निर्णय लिएको हो ।
डिपार्टमेन्ट अफ होमल्याण्डका कार्यवाहक सचिव क्रिस्टी नोएमले नेपालका लागि अब टीपीएसको कानुनी आधार नरहेको निष्कर्ष निकालेको बताइएको छ । हाल टीपीएसको आधारमा अमेरिका बसिरहेका नेपाली नागरिकलाई सन् २०२५ को अगस्ट ५ तारिक राति ११:५९ बजेपछि यो सुविधा लागू नहुने जनाइएको छ ।
अमेरिकी निकायहरूले टीपीएस अन्त्यसँगै अन्य वैधानिक बसोबासको आधार नभएका नेपालीलाई अमेरिका छाड्न निर्देशन दिएका छन् । "यदि तपाईं टीपीएस अन्तर्गत अमेरिका बसिरहनु भएको छ र अन्य कानुनी आधार छैन भने, स्वदेश फर्कन तयार हुनुहोस्", सूचना मार्फत भनिएको छ । साथै, अमेरिका छाड्ने प्रक्रियामा सहयोगका लागि सीबीपी मोबाइल एप प्रयोग गर्न सकिने उल्लेख छ ।
नेपालमा सन् २०१५ को विनाशकारी भूकम्पपछि अमेरिका सरकारले मानवीय आधारमा नेपाली नागरिकलाई टीपीएस सुविधा प्रदान गरेको थियो । त्यो बेला झण्डै १५ हजार नेपालीले यस सुविधा लिए पनि अहिलेको तथ्यांक अनुसार करिब ७ हजार मात्र बाँकी रहेका छन् ।
टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) अमेरिकी आप्रवासन प्रणाली अन्तर्गत एक विशेष सुविधा हो, जुन युद्ध, प्राकृतिक प्रकोप वा गम्भीर मानवीय संकटबाट प्रभावित देशका नागरिकलाई अस्थायी रूपमा अमेरिका बस्न, काम गर्न र कहिलेकाहीँ यात्रा गर्न पनि अनुमति दिन्छ ।
यो सुविधा अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीअन्तर्गतको नागरिकता तथा आप्रवासन सेवामार्फत व्यवस्थापन गरिन्छ । टीपीएस पाएका व्यक्तिहरूलाई जबरजस्ती अमेरिका छाड्न बाध्य पारिँदैन र उनीहरूले वैधरूपमा रोजगारी गर्न पनि पाउँछन् । तर यो स्थायी बसोबासको बाटो भने होइन । अवधि सकिएपछि सम्बन्धित नागरिकले अमेरिका छाड्नैपर्ने हुन्छ ।