२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

नगरप्रमुखको किर्ते हस्ताक्षर गरी प्रमुख प्रशासकीय अधिकृतलाई हटाउने प्रयास

shivam cement
कृष्ण तिवारी
२०८२ जेठ २३ गते २१:५३
Shares
नगरप्रमुखको किर्ते हस्ताक्षर गरी प्रमुख प्रशासकीय अधिकृतलाई हटाउने प्रयास

रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बन्ने नियतले सरकारी कागजातमा किर्ते गरेको घटना सार्वजनिक भएको छ । 

जिल्ला समन्वय समिति गौर, रौतहटमा कार्यरत छैठौं तहका कर्मचारी वकिल प्रसाद पालमाथि नक्कली सिफारिस पत्र र किर्ते हस्ताक्षर प्रयोग गरी संघीय मन्त्रालयमा सिफारिस पठाएको गम्भीर आरोप लागेको हो । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनद्वारा जारी विज्ञप्ति अनुसार पालले फतुवा बिजयपुर नगरपालिका कार्यालयमा कार्यरत नि.प्र.प्र. अधिकृत भरत प्रसाद यादवलाई ‘प्रशासनिक तथा आर्थिक ज्ञान क्षमताको अभाव’ भन्दै हटाउने प्रयासस्वरूप झुटो कागजात तयार पारेको आरोप लागेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको पत्रमा कार्यवाहक नगरप्रमुखको किर्ते हस्ताक्षर प्रयोग गरी यादवलाई हटाइ वकिल पाललाई सिफारिस गरिएको देखिएको छ ।’

तर कार्यालयमा हाल कार्यरत यादवले प्रशासनिक तथा आर्थिक काम सन्तोषजनक रूपमा संचालन गरिरहेको र विकास निर्माणका कार्यहरू पनि चुस्त–दुरुस्त रूपमा अघि बढिरहेको विज्ञप्तिमा उल्लेख छ । 

नगरप्रमुख खातुनले उक्त पत्र न त आफूले तयार पारेको न त हस्ताक्षर गरेको भन्दै, यस कार्यमा संलग्नलाई सूक्ष्म अनुसन्धान गरी कानुनी कारबाहीको माग गरेकी छन् । साथै, जाली सिफारिस र किर्ते कागजातमार्फत संघीय मन्त्रालयमा गरिएको पत्राचार अवैध भएको भन्दै सम्बन्धित निकायहरूलाई यथाशीघ्र आवश्यक कारबाही गर्न आग्रह गरिएको छ ।

आरोपित वकिल प्रसाद पाल (क.सं.नं. १८३४०९) र अन्य संलग्न पक्षहरूविरुद्ध आवश्यक अनुसन्धानका लागि गृहमन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरूमा जानकारी गराइएको जनाइएको छ ।

सम्बन्धित खबर