२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

टोखामा फोहोर फाल्नेको सूचना लिन मोबाइल एप्स संचालन

मध्यान्ह
२०८२ जेठ २३ गते २१:५४
टोखामा फोहोर फाल्नेको सूचना लिन मोबाइल एप्स संचालन

काठमाडौं : विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिकाले विभिन्न कार्यक्रम गरी मनाएको छ । 

नगरपालिकाले ठोस फोहोर पुनःप्रयोग तथा पुनःचक्रण अन्तरविद्यालय प्रतियोगिता तथा प्रदर्शनी, सम्मान कार्यक्रम तथा खोला तथा सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेको सूचना दिन एप्स निर्माण गरी संचालनमा ल्याएको छ । 

प्रदर्शनीका लागि टोखाका १८ नीजि तथा सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए ।

निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेका स्टललाई नगरपालिकाले नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरेको छ । जसमा धापासी माध्यमिक विद्यालय प्रथम भई नगद १५ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै बौंडेश्वर माध्यमिक विद्यालय द्धितीय भइ १२ हजार नगदसहित प्रमाणपत्रबाट सम्मान गरिएको थियो । तृतीय पुरस्कार भने न्यू मालाश्री इङ्लीस स्कुलले पाउन सफल भएको छ । जसमा ९ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ । शान्तना पुरस्कार भने नितेन मेमोरियल स्कुलले पाउन सफल भएको छ । जसमा नगद ५६ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । अन्य १४ ओटा स्कुलले भने सहभागिताको प्रमाणपत्र प्राप्त गरेका छन् । 

पुरस्कार पाउनका लागि निर्णायक मण्डलमा नगर शिक्षा शाखा प्रमुख बाबुराम गौतम र अभ्नी भेन्चर्स प्रा.लि.का डाइरेक्टर शिलशिला आचार्य र अपसाइकल नेपालका फाउण्डर पुष्पा स्थापित रहेका थिए । 

कार्यक्रममा विष्णुमती सफाइ अभियान अन्तर्गत ५० हप्तासम्म निरन्तर खोलामा पसेर सफाइ गर्ने विभिन्न फोहोर संकलन गर्ने कम्पनीका १८ जना सफाइकर्मीलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो । 

सर्वोत्कृष्ट काम गर्ने ढालबहादुर दर्जीलाई भने नगद १० हजारसहित सम्मान गरिएको थियो । त्यस्तै फोहोर संकलन गर्ने उत्कृष्ट तीन कम्पनीलाई कदरपत्रबाट सम्मान गरिएको थियो । जसमा हिमालयन वातावरण संरक्षण प्रा.लि., हातेमालो क्लिन सिटी प्रा.लि. र नेपाल फुलबारी सेवा प्रा.लि.रहेका थिए । त्यस्तै कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता तथा संस्थाहरुलाई पनि सम्मान गरिएको थियो । जसमा सशस्त्र प्रहरी बल नेपाल, पूर्व प्रहरी संगठन, लायन्स क्लव अफ काठमाडौं आर्शिवाद, पत्रकार सुशान्त न्यौपाने, दीपक न्यौपाने, अभियन्ताबाट रेणु अधिकारी, विदुर राना मगर, कविन्द्र थापालाई सम्मान गरिएको थियो । त्यस्तै सक्रिय जनप्रतिनिधिको रूपमा टोखा वडा नं. ८ का वडासदस्य अनुप राईलाई सम्मान गरिएको थियो । 

नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अभ्नी भेन्चर्सका निर्देशक सिलसिला आचार्यले टोखा नगरपालिकालाई प्लास्टिक मुक्त बनाउन सकिने तर स्थानीय सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताइन् । आचार्यले नेपालमा हरित अर्थतन्त्र निर्माण गर्नमा अभ्नीले जोड दिएको बताएकी थिइन् । 

कार्यक्रममा टोखा नगरपालिकाले फोहोर फाल्नेको सूचना लिन मोवाइल एप्सलाई प्रयोगमा ल्याउन लागको हो । सो एप्समा खोला किनारका स्थानीय वा जो सुकैले पनि फोहोर फाल्नेको फोटो एप्समा अपलोड गरेपछि नगरपालिकाले तत्काल कारबाही स्वरूप जरिवाना लिने नीति पास गरेको छ ।

जरिवानाको ५० प्रतिशत रकम सूचना मोवाइल एप्समा फोटो पठाउनेलाई नै दिने नीति लिएको छ । नगरपालिकाले खोला किनार, मठमन्दिर भएको क्षेत्र तथा सार्वजनिक स्थानहरुको नजिकका स्थानीयबासीको सहयोगमा फोहोर फाल्नेमाथि कारवाही गर्ने नीति लिएको छ । 

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले वातावरण संरक्षणका लागि फोहोर व्यवस्थापनमा टोखाले प्राथमिकता दिएर अघि बढ्ने बताए । ल्याण्डफिल्ड बनाउन आवश्यक जग्गा नभएकाले नीजि कम्पनीहरुको सहकार्यमा काम गरिरहेको बताए । आगामी दिनमा पुनःप्रयोग गर्न सकिने फोहोरलाई नगरभित्रै व्यवस्थापन गरिने मेयर अधिकारीले बताए ।

नगरपालिकाले कुहीने फोहोरलाई मल बनाइ कौसीखेती गर्न गर्न जोड दिएको छ । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले प्लास्टिक प्रदूषणको न्यूनीकरण गर्न ठोस फोहोर व्यवस्थापन नगरपालिका भित्रै गरिने बताए । 

कार्यक्रममा सफाइ अभियन्ता गणेश दाहालले नगरपालिकाले कडा भन्दा कडा नीति लिने हो भने मास्क नलगाई हिँड्न सक्ने टोखा बनाउन सकिने बताए । फोहोर फाल्नेमाथि कारबाही र जरिवानाको नीति नगरपालिकाले बनाएकोमा दाहालले धन्यवाद प्रकट गरे । कार्यक्रम वडाका जनप्रतिनिधिहरु, सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी तथा शिक्षकहरु र सफाइकर्मीहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको संचालन वातावरण तथा विपद् शाखा प्रमुख ई.अनुषा शर्माले गरेकी थिइन् ।

ADV

सम्बन्धित खबर