नुवाकोट : नुवाकोटको काफ्लेथुम्कोमा शनिबार चिनियाँ पर्यटकसहितको गाडी उद्धार गरिएको छ । गलत र बिग्रेको जीर्ण स्थानमा पुगेको चिनियाँ गाडीको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
ककनी हुँदै शिवपुरी गाउँपालिका–८ काफ्लेथुम्कोमा छहरे–टोखा सडकमार्ग पहिल्याउँदै आएको २ जना चिनियाँ नागरिक सवार गाडी बाटो भुलेर निकै जीर्ण र पहिरोग्रस्त स्थानमा पुगेकोमा स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी पठाएको छहरे प्रहरीले जनाएको छ । सो चिनियाँ गाडीमा एक महिला र एक पुरुष गरी दुईजना चिनियाँ नागरिक रहेका थिए । उनीहरूको नाम ज्येन फ्याङ जुङग र याङ यारु हो ।
उनीहरू चढेको यु३८९ एफसी नम्बरको चिनियाँ गाडी ककनी हुँदै झर्दै गरेकोमा बिग्रेको बाटो र गलत स्थानमा पुगेर जीर्ण स्थान फसेका थिए । स्थानीयवासीले देखेर उद्धार गर्दा गाडीमा उनीहरू दुई जना मात्रै रहेका थिए । स्थानीयवासीले विभिन्न औजार तथा उपकरणले बाटो खनेर उनीहरू सहितको गाडीको उद्धार गरेका थिए ।
थानापतीस्थित काफलडाँडा–चैजुनारायण–ककनी जोड्ने मोटरबाटोमा चिनियाँ नागरिक गाडी बाटो काफलडाँडा हुँदै केरुङ जान खोज्दा भीरमा फसेकोमा उद्धार गरिएको स्थानीयवासी कोषराज थपलियाको भनाइ छ । उनका अनुसार अति जीर्ण र खराब मोटरबाटोमा प्रवेश छिरेपछि गाडी बीचमै अलपत्र परेर बसेकोमा स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरेर चीनको केरुङतर्फ पठाएका हुन् ।
स्थानीयवासीले प्रहरीको सहयोगमा उक्त बाटो स्थानीय औजारको मद्दतबाट खन्नुका साथै मर्मत गरेर चिनियाँ पर्यटकसहितको गाडीलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । उक्त मोटरबाटो मर्मत र पुनर्निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् । उक्त मोटरबाटोमा स्थानीयवासीको सजगता र उदारताका कारण ठूलो दुर्घटना टरेको स्थानीयवासी विपुल पाण्डेको भनाइ छ ।