२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

पाल्पामा वेटर वेट्रेस सम्बन्धी १० दिने तालिम सुरू

मध्यान्ह
२०८२ जेठ २४ गते २१:५१
पाल्पामा वेटर वेट्रेस सम्बन्धी १० दिने तालिम सुरू


पाल्पा : हस्पिटालिटी क्षेत्रमा दक्ष कामदार आपूर्ति गराउने उद्देश्य राख्दै पाल्पाको तानसेनमा शनिबारबाट १० दिने वेटर वेट्रेस तालिम सुरू भएको छ । 

स्वीस सरकारको सहयोगमा नेपाल होटल संघ (हान), होटल संघ लुम्बिनी प्रदेश तथा सिद्धार्थ होटल संघको आयोजना र पाल्पा होटल संघको समन्वयमा तालिम सञ्चालन सुरू भएको हो । 

तानसेन बतासेडाँडास्थित होटल श्रीनगरमा तालिमको उद्घाटन गर्दै होटल संघ नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक चन्द्र प्रकाश श्रेष्ठले होटलमा कार्यरत कामदार कर्मचारीको दक्षता अभिवृद्धि साथै नयाँ जनशक्ति तयार गर्ने र दक्ष जनशक्तीले मात्रै हस्पिटालिटी क्षेत्रको स्तर वृद्धि गर्ने भएकाले स्वीस सरकारसँग  सहकार्यमा तालिम संचालन गरिएको जानकारी दिए । सीप सिकेर अझै दक्ष हुने र नयाँले तालिमबाट धेरै कुरा सिकी रोजगार प्राप्त गर्न सहज हुने भएकाले तालिममा दत्तचित्त भएर १० दिन सम्म सहभागी बन्न श्रेष्ठले आग्रह गरे । 

पाल्पा होटल संघका अध्यक्ष एवं श्रीनगर होटलका प्रबन्ध निर्देशक जयन्त भुसालले धेरै पछि पाल्पा तानसेनमा यस किसिमको तालिम सुरू भएको र तालिमले रोजगारमा रहेकालाई थप दक्ष बनाउने र नयाँ जनशक्ति समेत तयार हुने बताए ।

तालिमले होटल क्षेत्रको सेवा साथै नेतृत्व र व्यक्तित्व विकास समेत हुने जनाउदै यो तालिम पुरै निशुल्क रहेको र होटलमा निःशुल्क प्रयोगात्मक साथै सैद्धान्तिक शिक्षाको माध्यमबाट सिक्न अध्यक्षले प्रशिक्षार्थीमा आग्रह गरे । 

तालिमका प्रशिक्षक धिरेन राकस मगरले तालिममा वेटर वेट्रेसले हस्पिटालिटी क्षेत्रमा गर्ने काम र भूमिका मात्र नभइ हस्पिटालिटी क्षेत्रका अन्य सैद्धान्तिक कुरा पनि सिकाइने भएकाले १० दिनको तालिममा कुनै पनि दिन नछुटाउन आग्रह गरे । 

सिद्धार्थ होटल संघका उपाध्यक्ष भोज खत्रीले होटल पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको खाँचो रहेकाले यो तालिमले केही रुपमा मद्दत गर्ने बताए ।

तालिममा पाल्पाका विभिन्न होटल रिसोर्टका २० जना युवायुवतीको सहभागिता रहेको छ । पाल्पामा निकट भविष्यमा हाउसकिपिङको प्रशिक्षण पनि संचालन हुने आयोजकले जनाएको छ । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर