दम्माम, साउदी अरब : साउदी अरेबिया पूर्वी प्रान्त दम्माममा रोल्पाली सेवा समाजको सातौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी गायिका राधिका हमाल र गायक अर्जुन सापकोटाको सांगीतिक प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण बन्न सफल भयो ।
लोकदोहोरी प्रतिष्ठानकी उपाध्यक्षसमेत रहेकी गायिका हमालले “चञ्चले माया”, “आमा बिना अधुरो छु म…” , '' क्याम्पस पड्न आउने'' जस्ता चर्चित गीतमार्फत दर्शक श्रोताको मन जितिन् । यस्तै, पछिल्लो समय निकै लोकप्रिय गायक अर्जुन सापकोटाले “नाति आउँछ भनेर…”, “सुन सरीकी आमा…” लगायतका भावुक गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई देशको माटो र परिवारप्रतिको प्रेमको अनुभूति गराए। प्रवासमा रहेका नेपालीहरूका लागि दुवै कलाकारको प्रस्तुति ऊर्जा र भावनात्मक सम्बन्धको स्रोत बनेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास रियादका राजदूत डा. नरेश विक्रम ढकालले “विदेशी भूमिमा पनि नेपाली भाषा, संस्कृति र मौलिक पहिचानलाई जोगाउँदै यस्ता कार्यक्रम गर्नु वास्तवमै सराहनीय भएको बताए । उनले रोल्पाली सेवा समाज संस्थाले प्रवासमा नेपालीबीच एकता र आत्मबल बढाउन उल्लेखनीय भूमिका खेलेकोमा खुसी व्यक्त गरे ।
सभाध्यक्ष महेन्द्र घर्ती मगरले “मातृभूमिको लागि विश्वभर छरिएर रहेका रोल्पालीहरू गोलबन्द हौं” भन्ने सन्देश दिँदै सामाजिक एकता र सहयोगको महत्वमाथि जोड दिए ।
कार्यक्रममा साउदी अरबका विभिन्न सहरहरूबाट आएका नेपाली श्रमिकहरूको उल्लेखनीय सहभागिता थियो । साथै, स्थानीय कलाकारहरूको दमदार प्रस्तुति र मिडियाकर्मीहरूको उपस्थितिले कार्यक्रमलाई अझ रंगीन बनायो । सञ्चालन पक्षबाट प्रमुख सल्लाहकार रमेश बुढा मगरले केही कमजोरीहरू भएको स्वीकार गर्दै सहभागीहरूबाट सभ्य सुझावको अपेक्षा राखेका थिए ।
सांगीतिक प्रस्तुति, सांस्कृतिक विविधता र आत्मीय सहभागिताबीच सम्पन्न भएको यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूको राष्ट्रिय भावनालाई अझ बलियो बनाएको छ ।
कार्यक्रमको समापनमा प्रवास शाखा रोल्पाली सेवा समाजले “जय रोल्पा, जय मातृभूमि” भन्ने नारासहित आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्यो । साथै गायिका हमाल र गायक सापकोटाको साउदी अरेबियाको आभा खमिसमा पनि प्रस्तुति रहको छ ।