२०८२ जेठ २६ गते सोमवार / Jun 09 , 2025 , Monday
२०८२ जेठ २६ गते सोमवार
Ads

विराटनगरमा राष्ट्रपति रनिङ शिल्डको प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु

जुनु भट्टराई
२०८२ जेठ २५ गते २०:०५
विराटनगरमा राष्ट्रपति रनिङ शिल्डको प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु

विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १५औं राष्ट्रपति रनिङ शिल्डको प्रदेशस्तरीय छनोट प्रतियोगिता विराटनगरस्थित शहीद रंगशालामा शनिबारदेखि सुरु भएको छ । प्रतियोगितामा प्रदेशका ११ जिल्लाबाट करिब एक हजार खेलाडी सहभागी भएका छन् ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले गरे । उनले पूर्वाधार विकास मात्र राष्ट्रिय समृद्धिको आधार नहुने उल्लेख गर्दै शिक्षा र खेलकुदमा समेत पर्याप्त लगानी आवश्यक रहेको धारणा राखे । सभामुख विष्टले आगामी बजेटमा खेल क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरे ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले छोटो सूचना अवधिमा पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सफल भएकोमा आयोजक टोली, खेलाडी र सरोकारवालालाई धन्यवाद दिए । उनले खेल र खेलाडीलाई प्राथमिकतामा राखेर आगामी बजेट तयार पारिने प्रतिबद्धता जनाए ।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले प्रतियोगितामा सहभागी सबै खेलाडीलाई शुभकामना दिँदै राष्ट्रपति रनिङ शिल्डमा विजयी हुने खेलाडीहरूलाई विशेष सम्मान गरिने जानकारी दिए । साथै, उनले खेलाडीको जीवनस्तर उकास्न बोर्डले निरन्तर काम गरिरहेको बताए ।

बस्नेतले प्रतियोगितामा सहभागी हुन नसकेका सोलुखुम्बु, सुनसरी र खोटाङ जिल्लाका खेलकुद विकास समितिहरूलाई चित्तबुझ्दो कारणबिना सहभागिता नहुनुमा जिम्मेवार ठहरिने र आवश्यक कारबाही अघि बढाइने चेतावनीसमेत दिए ।

प्रतियोगितामा भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु र एथलेटिक्सजस्ता विभिन्न खेल विधामा प्रतिस्पर्धा भइरहेको छ । विजयी खेलाडीहरूले जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।

ADV

सम्बन्धित खबर