रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर ५, सन्तपुर दोस्तियामा १२ कोठे सुविधा सम्पन्न आधारभूत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । नगरपालिकाकी कार्यवाहक मेयर अम्बेया खातुनले उक्त भवनको शिलान्यास गर्दै स्थानीय जनताको बहुप्रतीक्षित माग पूरा हुने विश्वास व्यक्त गरिन् ।
वडामा पहिलोपटक स्वास्थ्य चौकी स्थापनासँगै भवन निर्माण कार्य सुरु भएपछि स्थानीयवासीमा उत्साह र खुसी देखिएको छ । शिलान्यास कार्यक्रममा बोल्दै कार्यवाहक मेयर खातुनले जनताको आधारभूत आवश्यकता स्वास्थ्य सेवा भएकाले यस क्षेत्रमा गुणस्तरीय सेवा पु¥याउने आफ्नो प्रतिबद्धता दोहोर्याइन् । उनका अनुसार विगतमा सामान्य स्वास्थ्य समस्याका लागि समेत स्थानीय बासिन्दालाई चपुर, गौर, वीरगञ्ज, भरतपुर वा काठमाडौंतर्फ धाउनुपर्ने बाध्यता थियो । अब आफ्नै वडामा स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि यस्तो समस्या अन्त्य हुने विश्वास लिइएको छ ।
भवन निर्माणका लागि मधेश प्रदेश सरकारले विशेष बजेटअन्तर्गत ३० लाख रुपैयाँ विनियोजन गरेको छ । चार कठ्ठा जग्गा निःशुल्क दान गरेर अस्पताल निर्माणका लागि महत्वपूर्ण योगदान दिने स्थानीय समाजसेवी मोहम्मद सेराजलाई कार्यक्रममा सम्मान गरिएको थियो । शिलान्यास कार्यक्रममा वडाध्यक्ष, विभिन्न जनप्रतिनिधि, प्रधानाध्यापक, स्वास्थ्यकर्मी र स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यवाहक मेयर खातुनले उपभोक्ता समितिलाई निर्माण कार्य गुणस्तरीय र समयमा सम्पन्न गर्न निर्देशन दिइन् । स्वास्थ्य सेवा प्रवाहमा नयाँ युगको सुरुवात हुने अपेक्षासहित आयोजना अघि बढाइएको बताइएको छ ।