काठमाडौं : मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित कैसाङमा रहेको सैनिक उच्चशिखर शिक्षालयमार्फत हालसम्म ‘हाई अल्टिच्युड तथा माउन्टेन वारफायर’ सम्बन्धी तालिम लिएका नेपालसहित २४ राष्ट्रका ३३८ सैनिक शिक्षार्थी दीक्षित भएका छन् ।
मुस्ताङमा बर्सेनि हाई अल्टिच्युड तथा माउन्टेन वारफायरसम्बन्धी आधारभूत तथा एडभान्स तालिम सञ्चालन हुने गरेको सैनिक जनसम्पर्क निर्देशानालयले जनाएको छ ।
मुस्ताङमा हाई अल्टिच्युड तथा माउन्टेन वारफायर तालिम सञ्चालनका लागि नेपाली सेनाको जङ्गी अड्डाले २०३२ सालमा सैनिक उच्च शिखर शिक्षालय स्थापना गरेको हो ।
स्थापनाको ५०औँ वर्ष पूरा गरिसक्दा नेपालसहित विभिन्न राष्ट्रका करिब ७ हजार जनाले आधारभूत तालिम प्राप्त गरिसकेको र २५०० जनाले हाई अल्टिच्युड तथा माउन्टेन वारफायरसम्बन्धी एडभान्स तालिम प्राप्त गरिसकेको सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
नेपाली सेनाअन्तर्गत सैनिक उच्चशिखर शिक्षालय मुस्ताङबाट एडभान्स तालिम प्राप्त गरेका शिक्षार्थीमध्ये ५१ जनाले ८ हजार मिटरभन्दा माथिको हिमाल आरोहरण गरिसकेका छन् । प्रवक्ता बस्नेतका अनुसार मुस्ताङबाट हाई अल्टिच्युड तथा माउन्टेन वारफायर तालिम कोर्स पूरा गरेका शिक्षार्थीमध्ये हालसम्म २९ जनाले सगरमाथा हिमालको आरोहण गरिसकेका छन् । मुस्ताङमा एडभान्स तालिम कोर्सबाट दीक्षित शिक्षार्थीलाई हिमाल आरोहणका लागि उत्पादन गर्ने गरिएको छ ।
नेपाली सेनाले बर्सेनि यस प्रकारको आधारभूत तथा एडभान्स तालिम सञ्चालन गर्ने गरेको छ । यसप्रकारको आधारभूत तालिम कोर्स ४/५ महिनासम्म हुने र एडभान्स तालिम आवश्यकता तथा औचित्यताका आधारमा निर्धारण हुने सैनिक प्रवक्ता बस्नेतले बताए ।
नेपाली सेनाले पर्वतीय क्षेत्रअन्तर्गत मुस्ताङमा समुन्द्री सतहको २५०० मिटरको उचाइदेखि ५५०० मिटरको उचाइमा हाई अल्टिच्युड आधारभूत तथा एडभान्स तालिम सञ्चालन गर्ने गरेको छ । हिमाली तथा उच्चपहाडी युद्धकला, चट्टान कला, हिमकला, रिभर कलालगायत सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास तालिम दिइने गरिएको छ ।
नेपाली सेनाले तालिम अवधिमा वातावरण प्रदूषण घटाउन तथा जलवायु संकट न्यूनीकरण गर्ने उद्देश्यले हिमाल तथा पर्वतीय क्षेत्रमा भएका फोहोरमैलाको समेत व्यवस्थापन गर्ने गरेको छ । नेपाली सेनाले बर्सेनि सफा हिमाल अभियान सञ्चालन गर्ने गरेको छ ।
नेपाली सेनाअन्तर्गत सैनिक उच्च शिखर शिक्षालय मुस्ताङले बर्सेनि आधारभूत तालिम समापन भएलगत्तै एडभान्स तालिम सञ्चालन गर्ने गरेको छ । यसप्रकारको एडभान्स तालिममा नेपाली सेनाका शिक्षार्थीसहित विभिन्न मुलुकका शिक्षार्थी सहभागी हुने गरेका छन् ।
यसै प्रयोजनका लागि मुस्ताङमा ११ जेठदेखि सेनाको हाई अल्टिच्युड तथा माउन्टेन वारफायर तालिम कोर्स सञ्चालन भएको नेपाली सेनाले जनाएको छ । तालिममा देशभरका करिब १४० भन्दा बढी सैनिक शिक्षार्थी सहभागी भएका छन्।
सोमबार जोमसोमस्थित कालीगण्डकी नदीमा बन्दोबस्तीका सामान प्रयोग गरी शिक्षार्थीलाई रिभर क्रसिङका विभिन्न विधाको अभ्यास प्रशिक्षण गराइएको छ ।