चितवन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट निस्केका फोहरलाई पर्यावरणमैत्री रूपमा व्यवस्थापन गर्दै आइएको छ । अस्पतालले फोहरको स्रोतमा नै वर्गीकरण गरी दुई प्रविधि र अन्य विधि प्रयोग गरेर व्यवस्थापन गर्दै आएको छ ।
अस्पतालले पुनः प्रयोग हुने वस्तुलाई अलग्गै, कुहिने वस्तुबाट बायोग्यास, माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिनबाट फोहरलाई घटाएर नि:सङ्क्रमित बनाउने गरेको अस्पतालका बायोमेडिकल इञ्जिनियर रुपेश मिश्रले जानकारी दिए । उनका अनुसार अस्पतालको फोहर व्यवस्थापन प्रणालीमा मुख्यतया दुईवटा प्रविधि प्रयोग गरिएको छ । बायोग्यास प्लान्टबाट वार्डहरूबाट निस्कने खानाका फोहरलाई कुहाएर बायोग्यास उत्पादन गरिन्छ ।
माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिन अस्पतालको बायोमेडिकल फोहर प्रशोधन गर्ने मुख्य उपकरण हो । अस्पतालबाट निस्कने सिसा, धारिलो वस्तु (निडल, सर्जिकल ब्लेड), कपडाका टुक्रा र प्लास्टिकजस्ता सबै प्रकारका फोहर मिसाएर राख्न सकिन्छ । यो मेसिनको क्षमता दुई सय ५० लिटर रहेको उनले जानकारी दिए । मिश्रले भने, “यसले करिब ३० मिनेटमा फोहरलाई प्रशोधन गर्छ । मेसिनभित्र रहेको स्रेडर ब्लेडले फोहरलाई सानो टुक्रा बनाउँछ र सँगै रहेको इन्टिग्रेटेड माइक्रोवेभ टेक्नोलोजीले यसलाई स्टेरिलाइज (निसङ्क्रमण) गर्छ ।”
प्रशोधनपछि निस्कने फोहर चिन्न नसकिने धुलोको टुक्रा हुने गर्छ । यस प्रक्रियाबाट फोहरको आयतन ८५ प्रतिशत र तौल २५ प्रतिशतसम्म घट्ने उनले जानकारी दिए । यो प्रविधि पुराना इन्सिनेरेटरको तुलनामा वातावरणीय रूपमा बढी सुरक्षित मानिएको उनको भनाइ छ ।
माइक्रोवेभ टेक्नोलोजी आफैँमा सुरक्षित भएकाले यसले वातावरणीय प्रदूषण नल्याउने उनले बताए । मेसिनबाट निस्कने बाफलाई समेत हेपा फिल्टरमार्फत शुद्ध पारेर मात्र वातावरणमा छाड्ने गरिएको छ ।
अस्पतालबाट दैनिक ४० देखि ६० किलो फोहर संकलन हुने गरेको छ । हुन्छ । यो फोहरलाई रङअनुसार डस्टबिनमा वर्गीकरण गरी माइक्रोवेभ मेसिनमा प्रशोधन गरिन्छ । वार्डहरूबाट फोहर संकलन गर्ने बेलादेखि नै कलर कोडिङअनुसार (रातो, हरियो डस्टबिन) फोहर छुट्याइन्छ । त्यसपछि संकलनस्थलमा ल्याएर थप सेग्रिगेसन गरिन्छ र प्रशोधनका लागि पठाइन्छ । कर्मचारीहरूका लागि पन्जा, मास्क, हेल्मेट, गमबुट र छुट्टै पोशाकसहित आवश्यक सुरक्षा उपकरण उपलब्ध गराइएको उनले बताए । यद्यपि फोहर व्यवस्थापनमा प्रत्यक्ष संलग्न कर्मचारीलाई निरन्तर एउटै काममा खटाउनुको सट्टा हरेक छ महिनामा जिम्मेवारी परिवर्तन (रोटेसन) गर्नेबारे पनि अस्पताल व्यवस्थापनले विचार गर्नुपर्ने उनको भनाइ छ ।
अस्पतालजन्य फोहर व्यवस्थापन राज्यकै लागि चुनौतीपूर्ण रहेको अवस्थामा क्यान्सर अस्पतालले फोहरलाई उचित तरिकाले व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने कोसिस गरिरहेको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले जानकारी दिए । अस्पतालले फोहर व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन यसबाट आम्दानीसमेत गर्न ‘फोहरबाट मोहोर’ कार्यक्रमको प्रक्रिया अगाडि बढाएको उनले बताए । यसअन्तर्गत प्रशोधन गर्न मिल्ने वस्तु बिक्री गर्ने योजना रहेको र यसका लागि भरतपुर महानगरबाट बोलपत्र आह्वान गरिसकेको र सम्झौता गर्ने प्रक्रियामा रहेको कार्यकारी निर्देशक डा. पौडेलले जानकारी दिए ।
उनका अनुसार वातावरणीय प्रदूषणले क्यान्सरजस्ता रोगको जोखिम बढाउँछ । क्यान्सरजस्ता रोग आन्तरिक कारणले करिब १५ प्रतिशत हुने भए पनि कीटनाशक औषधि, दूषित वातावरण र अन्य बाह्य कारणले क्यान्सर हुने सम्भावना बढी हुने भएकाले फोहरको उचित व्यवस्थापन महत्त्वपूर्ण विषय रहेको उल्लेख गर्नेछन् ।
अस्पतालले हालको फोहर व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्न तरल (लिक्विड) फोहर व्यवस्थापनका लागि पनि छुट्टै प्लान्ट राख्ने योजना रहेको उनले बताए । अस्पतालले हाल अस्पतालबाट निस्कने पानीको फोहरलाई नर्कट प्रणाली र साना ढुंगाहरूको प्रयोगबाट शुद्धीकरण गरिन्छ । शुद्धीकरणपछिको पानी पर्यावरणमैत्री रूपमा बाहिर निकालिने कार्यकारी निर्देशक पौडेलले बताए ।